प्रधानमन्त्रीद्वारा भूटानी शरणार्थी समस्या समयावधि किटान गरेरै टुंग्याउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधिमण्डलले मंगलबार भेट गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेकी थिइन्।

प्रधानमन्त्री ओलीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गरे। बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पुर्ववत् सहयोग रहने विश्वास व्यक्तगरेका थिए।

आफ्नै समस्याहरुसँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको भनाइ प्रधानमन्त्रीको थियो।

प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरुकै देशमा स–सम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए। त्यसो हुन नसके विकल्पमा तेस्रो मुुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरुको व्यवस्थापन नेपालमै गर्नका लागि समेत गरी तीनवटै विकल्पमा कार्य गर्न नेपाल सरकार खुला रहेको समेत प्रधानमन्त्रीले बताए।

यसका लागि उच्चायोगबाट सहयोग प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरेका थिए। जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्नेबारे उच्चायोग सकारात्मक रहेको बताएकी थिइन् ।

प्रकाशित मिति: : 2021-02-17 13:18:00

प्रतिकृया दिनुहोस्