गाउँपालिका उपाध्यक्ष विष्टले राजीनामा नदिएको अदालतको ठहर

रासस

मकवानपुर

उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजीनामा नदिएको फैसला गरेको छ। 

अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ।उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजीनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गरेका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए।

अदालतले विष्टले राजीनामा दिएको भन्‍ने कुरा प्रमाणित नभएको भन्दै नियमित कार्यमा रोकतोक हुनु नहुने बताएको अधिवक्ता दाहालले बताए।फैसलापछि कुरा गर्दै उपाध्यक्ष विष्टले अदालतले आफूप्रति न्याय गरेको बताइन। 

मनहरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा(एमाले) बाट विजयी भएका हुन्।

गाउँपालिकाका क्रियाकलाप सञ्चालनका क्रममा केही समयदेखि दुवै जनाबीच मतभेद उत्पन्‍न भएको थियो। मतभेदकैबीचमा गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको थियो।

 

प्रकाशित मिति: : 2021-02-18 07:21:00

प्रतिकृया दिनुहोस्