पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर

रासस

खोटाङ

जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि स्वास्थ्य शिविर शुरु गरिएको हो। 

जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट शुरु गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञसहितको  टोली सहभागी छन्।

वडा नं ३ ऐसेलुखर्क बजारमा आयोजना गरिएको स्वास्थ्य शिविरको पहिलो दिन २२४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए। 

ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङङ्देल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई ललक्ष्य गरेर विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल परीक्षणलगायतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जनाइएको छ। 
 

प्रकाशित मिति: : 2021-02-18 15:51:00

प्रतिकृया दिनुहोस्