नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ ७ मा, क्षेत्रीय अधिवेशन साउन १ र वडा अधिवेशन असार ५ गते (निर्णयहरु यस्ता छन्) 

रासस

काठमाडौं

नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेका उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

त्यसैगरी कांग्रेसले गाउँ÷नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ÷नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ।

उक्त निर्णय पार्टीको आगामी चौधौँ महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजील्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, साउदी अरब, बेल्जियम, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराइन, ओमन, फ्रान्स र लग्जम्बर्गस्थित नेपाली जनसम्पर्क समितिको अवधि समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णयसमेत गरेको छ।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि यही फागुन १५ गतेभित्र तोकेको उनले बताए। साथै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको समेत उनले बताए।

बैठकले कांग्रेसको विधानबमोजिम क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा रमेश लेखक र सदस्यमा आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ।

प्रकाशित मिति: : 2021-02-19 08:16:00

प्रतिकृया दिनुहोस्