राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

रासस

ताप्लेजुङ

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ। 

ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन्।

फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य शुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। विवरण सङ्कलन कार्य प्रत्येक वडामा गरिने छ।  

विभागका अनुसार वडाभित्रको जनसङ्ख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण सङ्कलन स्टेशन तोकिने भएको छ। 

प्रकाशित मिति: : 2021-02-20 07:47:00

प्रतिकृया दिनुहोस्