राष्ट्रपतिले आफ्नो श्रीमानको हत्यारा बिर्सिनु भयाे होला, म सक्दिनँ: वीना पौडेल

सी. पी. खनाल

नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा जेल सजाय भोगिरहेका तीनजना दाेषीको सजाय मिनाहा गरेपछि वीना पाैडेलले दु:ख व्यक्त गरेकी छन्।

देशसञ्चारसँग कुराकानी गर्दै पौडेलले सत्ता र शक्तिको आडमा राष्ट्रपतिले हत्यारालाई सफाइ दिएको बताइन्। उनी २०६८ हत्या गरिएका शिव पाैडेलकी श्रीमती हुन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता भएकै कारण उनीहरुलाई आममाफी दिनुभएको छ’, उनले भनिन्, ‘याे खबर सुनेपछि मलाई विश्वास लागिरहेको छैन, किनभने राष्ट्रपतिकै पनि श्रीमानको हत्या भएर अपराधी पत्ता लाग्न सकेको छैन, उहाँले कसरी यस्तो गर्न सक्नु भयाे होला भन्ने लागेको छ।’

उनले आफ्ना श्रीमानका हत्यारालाई आममाफी दिने निर्णय फिर्ता लिन आग्रह गरिन्।

‘२६ वर्षको उमेरमा मेरो ५ वर्षको बच्चा थियो, म जस्ता सामान्य मान्छेका श्रीमान मारिएका छन्, उहाँले कारबाही भोगिरहेकाहरुलाई पनि आममाफी दिनुहुन्छ’, उनले भनिन्, ‘सुखसुविधा, आराम पाएर राष्ट्रपतिले आफ्नो श्रीमानको हत्यारा बिर्सिनु भयाे होला म बिर्सिन सक्दिनँ, म मेरो श्रीमानको हत्या गर्नेलाई पूरा सजाय भोग्ने गराउनका लागि अनेक प्रयत्न गर्नेछु।’

उनले आफ्ना श्रीमानलाई षडयन्त्रपूर्वक फसाइएको भन्दै जेलमै हत्या गरेका हत्यारा पुष्टि भएका व्यक्तिलाई पूरा कारबाही हुनुपर्ने बताइन्।

‘मेरो श्रीमानमाथि षडयन्त्रपूर्वक आरोप लगाएर जेलमा राखिएको थियो, त्यहाँको प्रहरीले मेरो श्रीमानको संलग्नता नभएको बताएपछि बाबुराम भट्टराई र वामदेव गौतमको सरकारले प्रहरी प्रमुख परिवर्तन गरेर जसरी पनि जेलमा पठाउने षडयन्त्र गरेर जेलमा लगेर हत्या गरिएको थियो’, उनले भनिन्, ‘अपराध गर्नेले सजाय पाउँछन्, कानुनी कारबाही हुन्छ भन्ने जुन विश्वास थियो त्यो टुटेको छ।’

उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न चाहेको बताउँदै भनिन्, ‘म उहाँलाई भेटेर मेरा कुरा राख्न चाहन्छु, उहाँलाई म वास्तविक कुरा बुझाउन चाहन्छु, हत्याराहरुलाई आममाफी नदिइयोस्।’

प्रकाशित मिति: : 2021-02-20 12:29:00

प्रतिकृया दिनुहोस्