भविष्यबाणी गरेर घर चलाउँछन् नेत्रहीन दम्पती

तेजन खड्का

उर्लाबारी

दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा तपाईं पत्याउनुहुन्छ ? नपत्याउने धरै छन्। तर, मोरङको बेलबारी– ३ का ५४ वर्षीय महाप्रसाद दाहालले ज्योतिष पेशा गरेर जिविकोपार्जन गरिहेका छन्।

जन्मदै दृष्टि बिहीन जन्मिएका दाहालले ज्योतिष पेशा भने पढेका होइनन्। ‘अन्तरध्यानबाट देख्छु र भन्छु। कसको कति मिलेको छ, दहालले भने,‘ मलाई थाहा छैन, तर मैले गरेको भविष्यबाणी नमिलेको भए यो शहरबाट मलाई खेदाई सक्थे होला नि।

‘हजुरले जे भन्नु भएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै छन्। उनी भन्छन्, ‘जसले विश्वाश गर्छ उनीहरूले नयाँ ग्राहक लिएर आउने गर्छन्।’

१० वर्षदेखि बेलबारीमा डेरा बस्दै आएका महाप्रसादकोमा शनिबार र मंगलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ। त्यसो त महाप्रसाद मात्र होइन उनकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिबिहीन नै छिन्।

महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गरेका थिए, तर एउटा छोरो जन्मिएपछि श्रीमती अकैसँग विवाह गरिन्। अहिले उनका जेठीपट्टिका छोरा बैदेशिक रोजगारमा छन्।

जेठी श्रीमतीले छोडेपछि महाप्रसाद सहारा खोजीमा थिए। त्यही क्रममा २०६६ सालमा मोरङ नेत्रहिन संघद्वारा आयोजित ३ महिने तालिममा मनकुमारीसँग भेट भयो।

तालिमकै क्रममा महाप्रसादले मनकुमारीसँग हात मागे। तालिम सकिएपछि मनकुमारीले घरमै बुवा आमासँग माग्न आउन आग्रह गरिन्। महाप्रसाद पनि के कम भोलिपल्ट नै झापाको धाइजन मोडमा रहेको मनकुमारीको घर पुगे।

२०६६ फागुन १ गते बैबाहिक जीवन सुरु गरेका नेत्रहीन दाहाल दम्पती अहिले अरु सामान्य मानिस झैं घर व्यवहार चलाएर बसिरहेका छन्।

महाप्रसाद दैनिक ज्योतिष पेशा बाहेक अगरबत्ती बेचेर पैसा कमाउँछन्। मनकुमारी, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैं भ्याउँछिन्।

उनीहरु भन्छन् –‘ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु।'आफन्त इष्टमित्र भएपनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाई छ।

आफन्त नभएका होइनन्। तर कहिलेकाहि आउने बाहेक केही भरोसा छैन्।’ सरकारी स्तरबाट उनीहरूले प्रतिब्यक्ति मासिक १६ सय रुपैयाँ पाउँछन्  । 
 

प्रकाशित मिति: : 2021-02-21 11:49:00

प्रतिकृया दिनुहोस्