गीत–सङ्गीतका अनुरागी विष्णु र अर्चना मख्ख (भिडियाे)

हेमन्त विवश

काठमाडाै‌ं

डोटी के.आई.सिंह गाउँपालिका–६ निवासी विष्णु भट्टको सानैदेखिको रुचि थियो– गीत गाउँने।

रेडियोमा बजिरहेको गीत सुन्दा उनलाई लाग्थ्यो रे– म पनि यसरी कहिल्यै गाउन पाउँला कि ? सलेना गाउँनजिकको खोलामा बगिरहेको पानीको कलकल आवाज सुन्दा मन तरङ्गित भइदिन्थ्यो रे।

सानो छँदा घरमा एक्लै हुँदा होस् वा वनमा गाईबाख्रा चराउँदा गुन्गुनाइरहन्थे– डेउडा गीतका पंक्ति। 

डेउडाका विम्वात्मक पंक्तिहरुले बास गरिरहे– मनमष्तिस्कमा। विद्यालयका विभिन्न कार्यक्रममा ६ कक्षा पढ्दादेखि नै सुरु गरे स्टेजमा गाउन। पढाइको दौरानमा घर छोडे। कक्षा ७ मा भर्ना भए– डोटीकै सीताराम मावि उच्चाकोटमा। त्यही विद्यालयबाट उत्तीर्ण गरे एसएलसी। 

डोटी क्याम्पसमा पढ्दा उनले जिल्लामा बनाइसकेका थिए– आफ्नो चिनारी। २०६४ मा विवाह बन्धनमा बाँधिएका भट्टलाई थाहा थिएन जीवन साथी बन्न पुगेकी अर्चना सुमधुर स्वरकी धनी छन् भन्ने कुरा। र, उनको गीत–संगीतप्रतिको लगावका बारेमा। 

उता अर्चना विष्णुको गायनबारे जानकार थिइन्। विष्णुको स्वर सुनिसकेकी थिइन्। गीत–सङ्गीतकी अनुरागी अर्चना मख्ख थिइन्– मनले चाहेजस्तो मान्छेसँग सम्बन्ध जोडिन थालेकोमा। 

विवाह गरेको वर्ष दिनभित्रै बच्चा पाएपछि अर्चनाले गायन क्षेत्रमा पाइला टेक्न गाह्रो भयो। तथापि संघर्ष गरिरहिन्। बिहे गरेको केही महिनापछि काठमाडौं प्रवेश गरेका भट्टले अँग्रेजी साहित्यबाट एमए गरे।

पढाइसँगसँगै सिक्न थाले गुरु चण्डिराज काफ्लेसँग सङ्गीत। काठमाडौंमा टिक्न गाह्रो भएपछि उनी हानिए आफ्नै गृहजिल्ला डोटी। डोटी सदरमुकामस्थित पवित्रा बोर्डिङ स्कुलमा प्रिन्सिपल बने। बिहान आंशिक शिक्षका रुपमा पढाउन थाले डोटी क्याम्पसमा। 

डोटी क्याम्पसमा उनीसँगै शिक्षण गर्नेहरु शिक्षकमध्ये अहिले कोही पूर्णकालीन शिक्षक बनिसकेका छन् भने कोही स्थायी नै भइसके तर उनी भने श्रीमती र सानी छोरीलाई समेत ल्याएर पुनः फर्किए काठमाडौं नामक खाल्डोमा। 

काठमाडौं पुगेपछि निरन्तरता दिए गीत–सङ्गीतलाई। दुवै जना लागे गायन क्षेत्रमा। गुजारा चलाउनका लागि उनले कहिले रेष्टुरेण्ट खोले त कहिले किराना पसल। दिगो हुन सकेन व्यावसायिक पाटो। अनि पुनः सुरु गरे शिक्षण कार्य। बिहान शिक्षण गर्छन्। दिउँसो गायन क्षेत्रमा संघर्षरत छन्।



जनवादी गायक भन्छन्– कमरेडहरू गाडीमा सरर... (भिडियो)
'कोग्ले' : डोल्पाबाट चियाएको संसार 



डेउडा, आधुनिक गीत र गजल गरी झण्डै एकसयको संख्यामा गीत रेकर्ड गरिसकेका विष्णुले अर्चनालाई पनि हौस्याए गीत गाउन। उनको स्वरमा पनि करिब दुई दर्जन गीत रेकर्ड भइसकेका छन्। एक छोरा र एक छोरीका मातापिता अर्चना र विष्णुको संर्घर्ष जारी छ।

भगवानले राम्रो गला मात्र दिएनन् एकै क्षेत्रका दुई मनको मिलन पनि गराइ दिए। अचेल दुवै जना व्यस्त छन् गायन क्षेत्रमा। उनी सुनाउँछन्– ‘मेरो गायनको जग भन्नु नै डेउडा गीत हो। डेउडाका विम्वात्मक पंक्तिहरुले भित्रैसम्म छुन्छ। त्यसपछि सिर्जना गर्छु– सङ्गीत।’ यसै क्रममा सुनाए उनले दुई पंक्ति गीत पनि :

भोट्याले लाल पाखी बुन्यो हुम्ला चौरी ऊनको
घाम ताप्नु न छाइल ( छायामा) बस्नु राती लाग्न्या जूनको 

लेखन गायन र स्वरलाई सँगसँगै लगिरहेका भट्टका मनमा खड्किरहन्छ प्रतिभावान नवप्रवेशी भाइबहिनीहरुलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने कुरा। भेटमा उनले मसँग भन्न भ्याए – ‘एक जना नानी छन्– मनिषा सुनार। तिनको स्वर साह्रै मिठो छ। तर, आर्थिक अवस्था राम्रो छैन तिनलाई प्रमोट गर्न पाए हुन्थ्यो। के गर्ने होला ?’ सहयोगी मन भएका स्वरका धनि गायक दम्पत्तिको आगामी दिनको सुखद यात्राका लागि शुभकामना। 

प्रकाशित मिति: : 2021-02-21 19:42:00

प्रतिकृया दिनुहोस्