जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शहीद चन्द्र सार्कीको शालिक निर्माण शुरु गरिएको छ।
शहीद छात्रावासको प्राङ्गणमा शहीद सार्कीको शालिकको सोमबार गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन्।
विसं २००७ माघ १ गते बन्दीपुरको अड्डा कब्जा गर्ने क्रममा सार्कीले सहादत प्राप्त गरेका थिए।
नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सार्कीसहित छ जनाले सहादत प्राप्त गरेको जानकारी दिए।
सो अवसरमा प्रदेशसभा सदस्य विकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद सार्कीजस्ता दलित परिवारको ठूलो योगदान रहेको स्मरण गर्दै देशमा जुनसुकै आन्दोलनमा पनि दलितको अतुलनीय योगदान रहेको चर्चा गरे।
उनले शहीद सार्कीको स्मरणमा विसं २०५८ मा छात्रावास निर्माण गर्ने निर्णयअनुरुप १७ वर्षपछि भवन निर्माण सम्पन्न गरिएको बताए।
आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग छात्रावासको तला थप गर्न बजेट माग गरेको भए पनि वास्ता नगरेकोप्रति उनले दुःख व्यक्त गरे।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले शहीदलाई सम्मान गर्नुपर्छ भनेर प्रदेश सरकारसँग बजेट माग गरिए पनि अपेक्षा गरिएअनुरुप बजेट प्राप्त नभएको बताए।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु पाँच लाख लागतमा शालिक निर्माण गर्न लागिएको छात्रावास प्रमुख कल्पना लम्सालले बताए।
शहीद चन्द्र नेपाली छात्रावासमा बसेर हाल ३० छात्राले सुविधा लिँदै आएका छन्।
छात्रावासले अध्ययनमा सहजता ल्याएकाले तला थप गरेर क्षमता बढाउन आवश्यक देखिएको उनले जानकारी दिए।
बजेट अभावका कारण काम अघि बढाउन नसकिएको छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर सुनारले बताए।
छात्रवासमा बसेर अध्ययन गर्नका लागि गरिब तथा विपन्न परिवारले चासो देखाए पनि भौतिक संरचना थप गर्न नसकिएकाले चाहेर पनि सुविधा प्रदान गर्न कठिनाइ भएको उनको भनाइ थियो।
व्यास–१ स्थित निर्मल माध्यामिक विद्यालयले प्रदान गरेको दुई रोपनी चार आना जग्गामा शहीद छात्रावास निर्माण गरिएको हो। रासस