प्रोत्साहन अभियानले बाँझो जग्गा खेतीयोग्य बन्दै

रासस

स्याङ्जा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै बाँझो जग्गा खेतीयोग्य बन्दै गएको छ।

गाउँपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएपछि लामो समयदेखि बाँझो रहेका जग्गामा पुनः खेतीपाती शुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। 

गाउँपालिकाभित्र दुई वर्षदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने, उत्पादन वृद्धिसँगै आत्मनिर्भरता बढ्ने, किनेर खानेभन्दा पनि बिक्री वितरण गरेर खाने बानीको विकास हुनुका साथै विशेषगरी आयात प्रतिस्थापन गरी आत्मनिर्भरतामा जोड दिने मुख्य उद्देश्यले गत वर्षको बन्दाबन्दीका समयबाट अभियानलाई कार्यान्वयनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए।

“गत आर्थिक वर्षमा एक हजार ७३४ रोपनी बाँझो रहेको जग्गामा कृषिजन्य वस्तुको उत्पादन गरिएको थियो”, अध्यक्ष सुवेदीले भने, “गत आवमा उक्त अभियानमा ३३४ कृषक सहभागी भएका थिए भने रु छ करोडभन्दा बढीको कृषिजन्य वस्तुको उत्पादन भएको थियो।”

गाउँपालिकाले चालु आवका लागि पनि प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

प्रोत्साहन रकम प्राप्त गर्नका लागि लगातार दुई वर्षसम्म बाँझो रहेको जग्गामा खेती गर्ने किसानले सम्बन्धित वडाबाट प्राप्त हुने फारम, खेती गर्ने जग्गाको लालपुर्जा, लिजमा लिएको भए सम्झौता र वडाको सिफारिस आवश्यक पर्ने अध्यक्ष सुवेदीले बताए।

प्रकाशित मिति: : 2021-02-26 08:30:00

प्रतिकृया दिनुहोस्