शक्तिकेन्द्र बन्दै बुढानीलकण्ठ ‘दरबार’

देशसञ्चार

काठमाडाै‌ं

काठमाडौँ- चुनाव संघारमै थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नतिजा आफ्नै पोल्टामा पर्ने दाबी प्रस्तुत गरिरहेका थिए। तर चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल कार्तिक २९ गते देउवालाई कांग्रेसका अन्तिम प्रधानमन्त्री घोषणा गरे, गोरखा पुगेर।

देउवाले त्यसको भोलिपल्ट कात्तिक ३० गते धनगढी पुगेर ओलीलाई जवाफ फर्काए– मलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छ भनेका छन्। कसरी अन्तिम प्रधानमन्त्री हुन्छु?

तर चुनावी नतिजा देउवाको अपेक्षाभन्दा फरक आयो। कांग्रेस लज्जास्पद हार ब्यहोर्न बाध्य भयो। प्रतिपक्षमा खुम्चिएका देउवाले प्रतिपक्षको दायित्व इमान्दारिताका साथ पूरा नगरेको आरोप, आफ्नै पार्टीका नेताहरुबाट खेपे।

गुटउपगुटको धमिरा लागेको आफ्नो पार्टीलाई जोगाउन छोडेर सरकारसँग साँठगाँठ गरेको आरोप पनि निरन्तर लाग्यो उनलाई।

तर परिस्थिति एकाएक बदलिएको छ। अक्सर आफ्नै पार्टीका नेताहरुको आलोचनाको घेरामा पर्दै आएका र उनीहरुसँगको भेटलाई पन्छाउँदै आएका देउवा पुनः भीडले घेरिन थालेका छन्। उनको बुढानिलकण्ठ दरबार पुनः एक पटक शक्ति केन्द्रको रुपमा विकसित हुन थालेको छ। र, उनी फेरि प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणी मिल्ने संकेत देखिएका बेला ओलीको शक्तिकेन्द्र बालुवाटार सुनसान बन्दैछ।

प्रकाशित मिति: : 2021-02-26 19:22:00

प्रतिकृया दिनुहोस्