उपत्यका सफा राख्न महानगरले थाल्यो पहल 

रासस

काठमाडौं
Photo : Metropolitan office facebook
Photo : Metropolitan office facebook

काठमाडौँ शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ। यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम (प्रफेसनल लर्निङ कोर्स पिएलसि) उपलब्ध गराउनेछ।

तालीम यही फागुन २१ गतेबाट शुरु हुनेछ। कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ। तालीम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ।

तालीम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ। 

महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ। यसरी तालीममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन्। 

प्रकाशित मिति: : 2021-02-27 11:30:00

प्रतिकृया दिनुहोस्