संघर्ष र पतिको साथले उपसचिवमा नाम निकालेर सहायक सीडीओ बनेकी किरण

लोकान्तर

काठमाडाै‌ं

‘जीवन नै संघर्ष हो नि ! संघर्ष कहाँ छैन र ? बाँच्नको लागि त सघर्ष जहिल्यै गरिरहनुपर्छ । पाकेको खाना खान पनि हातमुख चलाउनुपर्छ,’ सुदूरपश्चिमकै पहिलो महिला सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बन्न सफल भएकी किरण जोशीले भनिन्, ‘कुनै पनि काम गर्दा संघर्षदेखि डराउनु हुँदैन । जति संघर्ष गर्‍यो, त्यति सफलता पाइन्छ । एकचोटि असफलता भयो भन्दैमा हामीले हरेस खायौं भने कहिल्यै अगाडि बढ्न सक्दैनौं ।’ सुदूरपश्चिममा जन्मिएर खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा पास हुने पहिलो महिला हुन् किरण । गृह मन्त्रालयले डोटी जिल्लाको सहायक सीडीओका रूपमा पदस्थापन गरेपछि सोमवारबाट डोटी जिल्ला प्रशासन कार्यालयमा उनी हाजिर भएकी छन् । 

पुर्ख्यौली घर बैतडी भएकी किरण कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा जन्मेकी हुन् । स्थानीय स्कूलबाटै प्रारम्भिक शिक्षा लिँदा उनी स्कूलमा प्रायः प्रथम, द्वितीय र तृतीय भइरहन्थिन् । कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक (बीकम) गरेपछि उनलाई शिक्षिका बन्ने रहर जाग्यो । उनले प्राथमिक तहमा नाम पनि निकालिन् ।

२०५२ सालबाट अध्यापन पेशामा संलग्न उनको २०५४ सालमा कैलालीको गोदावरी नगरपालिका–६ का सिद्धराज जोशीसँग बिहे भयो । पारिवारिक जिम्मेवारीमा बाँधिएपछि किरणलाई शिक्षिकाको जिम्मेवारी बहन गर्न समस्या हुन थाल्यो । काखमा सन्तान र घरको जिम्मेवारी पनि बढेपछि उनले विद्यालयको जागिर छोडिन् । किरणका १ छोरा र १ छोरी छन् । भएको जागिर छोडेपछि गृहिणी जस्तै भएकी किरण पतिको प्रेरणाले निजामती सेवामा प्रवेश गरिन् ।

प्रकाशित मिति: : 2021-02-27 17:29:00

प्रतिकृया दिनुहोस्