सकसपूर्ण अवस्थामा देशको अर्थतन्त्र, ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकको सूचीमा नेपाल

रातोपाटी

काठमाडौं

कोरोनाको कारण मुलुकको आर्थिक वृद्धिदरमा ठुलो धक्का लागेको छ। केन्द्रीय तथ्याङ्क विभागलाई आधार मान्ने हो भने गत वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक रह्यो।

अझ कोरोनापछिको लकडाउनका कारण उक्त दर १५.४ प्रतिशतमा खुम्चियो।

गत वैशाखमा २.२७ प्रतिशतको आर्थिक वृद्धिदरको आँकलन गरेको विभागले जेठ महिनाबाट आर्थिक गतिविधि नियमित हुने अनुमान गरेको थियो।

तर असारसम्मै बन्दाबन्दीको अवस्था रहेपछि देशको आर्थिक वृद्धिदरमा ठूलै झट्का लागेको छ। 

कोरोनाले नेपालको अर्थतन्त्रमा खासै असर नगरेको, आर्थिक वृद्धिदर न्यून भए पनि माइनसमा नजाने तर्क भइरहेकै बेला सरकारकै एउटा निकायले आर्थिक वृद्धिदरको कहालीलाग्दो चित्र सार्वजनिक गरेको हो। जबकि भूकम्पमा समेत मुलुकको आर्थिक वृद्धिदर माइनसमा गएको थिएन।

आर्थिक वर्ष २०७२/०७३ (सन् २०१५/१६) मा गएको भूकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा झरेको थियो।

अर्थविद् डा. शंकर शर्मा कोरोनाका कारण अर्थतन्त्रमा ठुलो क्षति पुगेको बताउँछन्।

भूकम्पको बेलामा पनि ऋणात्मक नभएको र त्यसपछिका तीन वर्ष पुनर्निर्माणका कारण आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले भने, ‘भूकम्प एक पटक आएको र सीमित क्षेत्रमा मात्र असर गरेको हुनाले आर्थिक वृद्धिदर ऋणात्मक तिर जान पाएन तर अहिले कोरोनाको प्रभाव लामै समय रह्यो, यसले राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव परेकाले आर्थिक वृद्धिमा झट्का लागेको हो।’

प्रकाशित मिति: : 2021-03-04 16:24:00

प्रतिकृया दिनुहोस्