आगलागी पिडितलाई प्रदेश सरकारको राहत 

ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ। 

प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले आगलागी बस्तीमा पुगेर राहत सामाग्री उपलब्ध गराउनका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका छन्। 

प्रदेश सरकारले पिडित परिवारलाई ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए। त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिए।

आगलागी पिडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पिडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने बताएका थिए।

मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पिडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए। 

प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राईले पिडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री हस्तान्तरण गरे। 

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगामलगायत आगलागी बस्ती पुगेका थिए।

प्रकाशित मिति: : 2021-03-05 14:19:00

प्रतिकृया दिनुहोस्