११ सहायक सडक सम्पन्न हुँदै

Symbolic photo
Symbolic photo

हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ।

भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक सम्पन्न हुन लागेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। 

हुलाकी राजमार्गबाट भारतको सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको काम भइरहेको निर्देशनालयले जनाएको छ।

यी सडकमध्ये कतिपयको लम्बाई १८÷१९ किमीदेखि २७ किमीसम्म रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए। यी सबै सडकको गरी जम्मा लम्बाई ८८२ किमी छ।

उनका अनुसार कतिपय जिल्लामा एउटा मात्रै त कतिपय जिल्लामा दुई तीन वटासम्म यी सडक रहेका छन्। सरकारले आर्थिक वर्ष २०७९/८० मा राजमार्गसँगै यी सडक सम्पन्न गर्ने लक्ष्य लिएको छ। उनले भने, ‘त्यही लक्ष्यका साथ निर्माणको काम भइरहेको छ।’ हुलाकी राजमार्गबाट शुरु भएर सडक महेन्द्र राजमार्ग हुँदै भारतीय सीमासम्म रहेको छ। 

भारतीय अनुदानमा १० सहायक सडक निर्माण भइरहेकामा नौ सडक सम्पन्न हुन लागेको छ भने एउटा निर्माणाधीन रहेको प्रमुख बिसुरालले जानकारी दिए। 

नेपाल सरकारको बजेटबाट निर्माण हुने भनिएको २८ सडकमध्ये दुई सम्पन्न भइसकेको र २६ निर्माणाधीन रहेको छन्। उनले भने, ‘सरकारले वार्षिकरुपमा विनियोजन गरेको बजेटबाट निर्माणको काम भइरहेको छ।’

राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको छ। सडक निर्माण सम्पन्न भएपछि तराई–मधेशका जनताको जनजीवन सहज हुने अपेक्षा गरिएको छ। सरकारले मध्यपहाडी राजमार्गसँगै यो राजमार्गको निर्माण आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ। 

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण गत आवमा आयोजनाअन्तर्गतका सडक निर्माण सुस्त थियो। चालू आवमा भने अपेक्षा गरिएअनुसार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-03-05 16:11:00

प्रतिकृया दिनुहोस्