सातौं प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस र आर्मीको बिजयी सुरुवात

सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको छ।

जिल्ला भलिबल संघ बाँकेको आयोजनामा पाँच टोली सहभागी रहेको सो प्रतियोगिताको संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना र मिस नेपाल नम्रता श्रेष्ठले संयुक्त रुपमा रेफ्री शान्ति गुरुङलाई बल हस्तान्तरण गरेर उद्घाटन गरियो। 

‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ फागुन २१–२५ सम्म नेपालगञ्ज रंगशालामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले र न्यू डायमण्ड क्लबलाई ३–२ को सेटमा जित हासिल गर्यो। 

उद्घाटन खेलको पहिलो, तेस्रो, र पाँचौ सेटमा नेपाल पुलिस क्लबले न्यू डायमण्ड क्लबलाई क्रमशः २५–१९, २५–१९ र १५–८ ले पराजित गर्दा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई दोस्रो र चौथो सेटमा क्रमशः २८–२६ र २५–१७ ले पराजित गरे पनि आफ्नो पक्षमा जित निकाल्न सकेन। जितपछि पुलिसको २ तथा पराजित डायमन्डको १ अंक भएको छ।  

यसैबीच, दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले स्थानीय लुम्बिनी युनाइटेड टिमलाई २८–८, २५–८ र २५–७ को सोझो सेटमा जित निकाल्यो। यो जितसँगै आर्मीको ३ अंक पुगेको छ। पराजित लुम्बिनीको शुन्य अंक छ। आर्मीकी साफिया पुन ‘प्लेयर अफ दि म्याच’ चुनिइन्। 
शनिबार दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी युनाइटेड टिमबीच ३ बजे प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको शीर्षस्थानमा रहने टोली लिग च्याम्पियन बन्नेछ। 

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड र लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ। प्रतियोगितामा विजेतालाई ५ लाख, दोस्रो हुनेलाई दुई लाख, तेस्रो हुनेलाई १ लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ। गत वर्ष प्रथम पुरस्कार दुई लाखको रहेको थियो। प्रतियोगिताको पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपिएफ, तेस्रो र चौथोमा भारतको रेलवे ईण्डिया, पाँचौमा एपीएफ र छैठौमा पुलिसले विजय हासिल गरेका थिए ।

प्रकाशित मिति: : 2021-03-06 13:06:00

प्रतिकृया दिनुहोस्