काँग्रेसको बटमलाइन ओलीको बिदाइ र ‘अर्ली इलेक्सन’

अब विधिवत् रूपमा ‘नेकपा एमाले’ पनि फुट्ने आँकलन

रातोपाटी

काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ।

सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो।

काँग्रेस नेता रमेश लेखकले काँग्रेसको मुख्य मुद्दा अर्ली इलेक्सन हुनुपर्ने बताए।

उनले भने, ‘अब संसद् त्रिशङ्कु भयो। ६४ प्रतिशत मत भएको पार्टीले पनि स्थिरता दिन सकेन। हिजोबाट त्यो पार्टी विधिवत रूपमा दुई पार्टी भइसक्यो। त्रिशङ्कु संसद्ले न स्थिरता दिन सक्छ न यो प्रतिनिधि सभाले कम्युनिस्टको द्वन्द्वमा काम गर्न सक्छ।’

त्यसो भएकाले अब ताजा जनादेशका लागि अर्ली इलेक्सनमा जानुपर्ने उनको राय छ। पार्टी सभापतिका विश्वास पात्रसमेत रहेका लेखकले भने, ‘मूल कुरा अर्ली इलेक्सनमै जानुपर्छ। नेतृत्व कसले गर्ने भन्ने कुरा सेकेन्डरी हो।’

यस्तै सांसद गगन थापाले काँग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताए।

‘देश अब इलेक्सनमा जान्छ नै। संसद् विघटनबाटै गत निर्वाचनको जनमत सकिएको थियो। फेरि हिजोको सर्वोच्चको निर्णयबाट नेकपा एमाले र माओवादीले पाएको जनमत सकियो अब। देश अब निर्वाचनमा जान्छ। निर्वाचन कसले गराउने ? कहिले गराउने ? कसरी यसलाई सम्हाल्ने भन्ने सन्दर्भमा नेपाली काँग्रेसले सुझबुझ पूर्ण ढङ्गले विभिन्न पक्षमा छलफल गर्नुपर्छ।’

प्रकाशित मिति: : 2021-03-08 14:59:00

प्रतिकृया दिनुहोस्