ओली झन् शक्तिशाली

 अखण्ड भण्डारी

काठमाडाैं

काठमाडौं : केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवत: निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्।

त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ। 
राजनीतिक नि:शस्त्रीकरण
२०७४ फागुन ३ गते ओली प्रधानमन्त्रीको कुर्सीमा बस्दा नेपालमा ४४ सशस्त्र समूह क्रियाशील थिए। हत्या–हिंसाको शृंखला बढ्दो थियो। ठीक ३ वर्ष १८ दिनमा आइपुग्दा ओलीले हिंसाशून्य देश बनाएका छन्। फागुन २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मूलधारमा फर्काउनु उनको अन्तिम ‘शान्ति–पहल’ थियो। त्यो हासिलसँगै अब देश राजनीतिक नि:शस्त्रीकृत बनेको छ। 

त्यसअघि ओलीले प्रधानमन्त्री बनेको अर्को वर्ष २०७५ फागुन २४ गते सीके राउतलाई राजनीतिक मूलधारमा ल्याएका थिए। पृथकतावादी सशस्त्र आन्दोलनमा उत्रिएका राउतले अन्तत: राष्ट्रिय अखण्डताको प्रतिबद्धता जनाउँदै हतियार बिसाएका थिए। यसबीच प्रधानमन्त्रीले वार्ताका माध्यमबाट अन्य सशस्त्र समूहलाई पनि हतियार बिसाउन बाध्य बनाए। देशमा अब हिंसात्मक आतंक मच्चाउने कुनै शक्ति छैन। 

अन्तत: आयो मेलम्ची
प्रधानमन्त्री बनेको अर्को महिना बीना मगरलाई खानेपानीमन्त्री बनाउनासाथ ओली मन्त्रिपरिषद्कै एक सदस्यले यस प्रतिनिधिसँग भनेका थिए, ‘ओली प्रधानमन्त्री र प्रचण्डकी बुहारी खानेपानीमन्त्री होउन्जेल राजधानीमा मेलम्चीको पानी झर्दैन। त्यसका लागि कि प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ कि बीना खानेपानीमन्त्रीबाट हट्नैपर्छ।’ 
संयोग वा वास्तविकता— बीना खानेपानीमन्त्रीबाट हटेको तीन महिना नपुग्दै मेलम्चीको पानी सुन्दरीजलमा खसेको छ। मन्त्रीले तदारुकता देखाएको भए ढिलामा पनि गत वर्ष मेलम्ची सम्पन्न भइसक्ने थियो। अब भने यसले काठमाडौं टेकेको छ। र, परीक्षण सकेर सम्भवत: एकदेखि दुई महिनाभित्र घरघरमा पस्नेछ मेलम्ची। आखिर आयो त मेलम्ची ! काकाकुल राजधानीको तिर्खा मेटाउन १२ वर्षदेखि कुरिएको यो योजना अब भने आउनै लागेको छ।  

प्रकाशित मिति: : 2021-03-10 08:07:00

प्रतिकृया दिनुहोस्