काठेखोलाको केन्द्र जोड्ने सडक कालोपत्र गरिदै

File photo
File photo

पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।

राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको छ। राजमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ। राजमार्गको अक्षेते खण्डदेखि बिहूँ–सुल्डाँडा–लेखानी जोड्न मूल सडकको ९०० मिटर सडक कालोपत्र गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ।

गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ युग कन्सट्रक्शनलाई गत वर्षको फागुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो। एक वर्षमा सडकमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ।

चालू आर्थिक वर्षको फागुनभित्र निर्माण सकिनुपर्ने भए पनि चिसो मौसममा कालोपत्र कम्पनीका आधिकारिक प्रतिनिधि कुमार कार्कीले जानकारी दिए।

उक्त सडकमा ग्याविन भर्ने, सडक चौडा गर्ने, ग्राभेल तथा सब–बेसको काम सकिएको र एक हप्ताभित्र कालोपत्रको काम थाल्ने उनको भनाइ छ। “मौसम अझै चिसो छ, चैत महिनामा कालोपत्र थालिनेछ”, कार्कीले भने, “अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेकाले कालोपत्र छोटो समयमै सम्पन्न गर्नेछौँ।”

सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु दुई करोड ३७ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङका इन्जिनीयर श्यामप्रसाद भण्डारीले जानकारी दिए। सो सडक साढे पाँच मिटर चौडा बनेको छ।

मध्यपहाडी लोकमार्गको अक्षेते खण्डलाई जिरो किलोमिटर मानेर सुल्डाँडासम्मको करीब ९८२ मिटर सडक पहिलो चरणमा कालोपत्र हुनेछ। यो सडक कालोपत्र भएसँगै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र सुल्डाँडा कालोपत्र सडकले जोडिनेछ।

ठेकेदार प्रतिनिधि कार्कीका अनुसार उक्त सडकमा १२० मिटर ढलान र बाँकी खण्डका कालोपत्र गरिनेछ। ढलानको काम सकिएको हुँदा कालोपत्रको काम तुरुन्त शुरु गर्ने उनले बताए। रासस

प्रकाशित मिति: : 2021-03-10 16:54:00

प्रतिकृया दिनुहोस्