प्रचण्डलाई जसपाले भन्यो- हामी सबैलाई सहयोग गर्न मात्रै जन्मिएका हौ र?

सेतोपाटी

काठमाडाैं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई सहयोग गर्न जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन्।

बुधबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलमा प्रचण्डले जसपाको सहयोग मागेका हुन्।

जवाफमा जसपा नेता राजेन्द्र महतोले हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौ र भन्दै व्यङ्ग्य गरेका थिए।

छलफलपछि बाहिरिएका नेता महतोले सेतोपाटीसँग कुरा गर्दै भने,‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो। हामीले हामी सधै अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चै कसैले पुरा नगर्ने के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौर भनेर जवाफ दियौं।’

जनता समाजवादी पार्टीका वरिष्ट नेता महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश/थारूहट आन्दोलनका मुद्दाहरू फिर्ता, संविधान संशोधन लगायतका सवालमा हामीलाई सहयोग गर्नेलाई आफूहरूको साथ रहने भनि प्रचण्डलाई आश्वस्त पारेका थिए।

उनले आफ्ना मुद्दाका विषयमा पटक पटक केपी ओली समक्ष राखिए पनि ओलीले ठग्ने बाहेक केही काम नगरेको भन्दै यस्तो वातावरणमा कसरी सहयोग गर्ने भनि प्रश्न गरेका थिए।

प्रकाशित मिति: : 2021-03-10 18:25:00

प्रतिकृया दिनुहोस्