नयाँ गठबन्धन बनाउन प्रचण्डको दाैडधुप, सरकारलाई दिएको समर्थन फिर्ता लिन 'सकस'

देखापढी

काठमाडौँ

जङ्‌ग तामाङ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्‍ने अन्योलमा छ। 

आज बसेको स्थायी कमिटी बैठकले पनि त्यस विषयमा कुनै निर्णय गरेन। बरू पार्टी केन्द्रीय कमिटी बैठक बोलाउने, सांगठनिक यथार्थ बुझेर त्यससम्बन्धी कार्य योजना बनाई ठोस रूप दिन कार्यदल गठन गर्ने, कांग्रेस र जसपासँग संसद् सञ्‍चालनलगायत राजनीतिक प्रक्रियामा वार्ता र सहकार्य गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आइतबारको आदेशअनुसार स्वतः एमालेसँग विभाजन भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने चर्चा छ। पार्टीका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले आजको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीले संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दलमध्येका जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेर समर्थन गर्ने कि नगर्ने भन्‍ने निर्णय लिने बताए।

श्रेष्ठले यसो भन्‍नुको भित्री कुराचाहिँ दुईवटा रहेको अनुमान गर्न सकिन्छ।

पहिलो, कांग्रेस र जसपाले साथ दिए ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धनको सरकार गठन गर्ने।

दोस्रो, कांग्रेस र जसपाले साथ नदिने स्थिति आए सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्‍ने।

प्रकाशित मिति: : 2021-03-10 20:33:00

प्रतिकृया दिनुहोस्