काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो।
काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो।
काठमाडौँ मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशङ्कर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाए।
बलिङतर्फ एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन–तीन तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिए।
यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ। वाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ।
वाग्मतीले ४६ ओभरमा सात विकेटको क्षतिमा २४४ रन बनाएको छ। वाग्मती प्रदेशबाट खेलिरहनुभएका पारस खड्काले शतकीय पारी खेल्नुभयो । खड्काले १३३ बल खेल्दै ११९ रन बनाए। उनले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गरे। रासस