थुनामै प्रहरीको चरम यातना, सात दिन सुत्न नदिई कुटे (भिडियो) 

बर्दिवास नगरपालिका-३ का मनिस अर्याल फागुन १३ गते घर नजिकको पसलमा सामान किन्न गएका थिए। उनी पसलका व्यवसायीसँग आफ्नो परिवार पढ्ने स्थानीय जनता माध्यमिक विद्यालयको बिग्रदो अवस्थाको बारेमा कुराकानी गरिरहेका थिए।

कुराकानीकै क्रममा विद्यालयका पूर्वप्रधानाध्यापक नेत्र रम्तेल उपस्थित भए। पसल व्यवसायीसँग कुरा गरिरहेका मनिसले पूर्वप्रधानाध्यापक रम्तेलसँग भने-‘स्कुलको पढाई खस्किदै गएको छ, सर। अभिभावक भेला बोलाएर छलफल गर्नुपर्यो।’

स्कुलको विषयमा यो कुरा उठ्ने वित्तिकै पूर्वप्रधानाध्यापक रम्तेल जंगिन थाले। र, भने, ‘तँ को होस् विद्यालयको बारेमा बोल्ने?’ 

जवाफमा अर्यालले भने-‘म स्कुलको अभिभाक हुँ, सर। यो स्कुलमा पहिलैदेखि मधेसी र पहाडेबीच विभेद हुने गरेको छ। बसेर मिलाउनु पर्यो।’

पसलमा भएको सामान्य छलफलले उग्र रूप लिन थालेपछि सूचना पाएको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय घटनास्थल पुग्यो। प्रहरीले मनिस अर्याललाई प्रहरी कार्यालय लैजान गाडीमा बस्न आदेश दियो। पूर्वप्रधानाध्यापक रम्तेल भने बाइकमा आउँछु भन्दै गाडी चढ्न मानेनन्।

प्रहरीको भ्यानमा आफूमाथि राम्रो व्यवहार नभएपछि अर्यालले रम्तेलसँग भएको विवाद, जुन उनले अगाडी नै मोबाइलमार्फत खिचेका थिए, त्यो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिए। 

तर, अर्याल जतिबेला प्रहरी भ्यानबाट इलाका प्रहरी कार्यालयको हातामा उत्रिँदै थिए, रम्तेलको समूह एक्कासी जाइलाग्यो र उनीमाथि हेलमेट र इट्टाले आक्रमण भयो। उनको देब्रे आँखामा चोट लाग्यो।  तर, रम्तेलले उल्टै प्रहरी कार्यालयमा पुगेर आफूमाथि विद्यालय हाताभित्र गाली गलौज गरेको तथा जातीय विभेद जस्ता मुद्धा उठाएको आरोपसहित मनिस अर्यालविरूद्ध मुद्धा दर्ता गराए।

पुलिस चौकीमा रम्तेलको समूहबाट कुटपिट सहेका अर्यालले आफूले गाली गलौज नगरेको तथा पूर्वप्रधानाध्यापकमाथि जातिय विभेद हुने कुनै कुरा नउठाएको प्रस्ट पार्न खोजे। उनले सामान्य विवादलाई अतिरञ्जना गरेको जिकिर पनि गरे। तर, प्रहरीले रम्तेल समूहको आक्रमणबाट झण्डै आँखा गुमाएका अर्याललाई उल्टै जातिय विभेदको मुद्धामा पक्राउ गर्यो।

रम्तेललाई भने सोधपुछ नै नगरि पठायो। तर, उनलाई झुटो मुद्धामा आरोपित बनाएर प्रहरीले सात दिन अमानवीय दुःख दियो।मनिस अर्याल आफूलाई नियोजित रूपमा सड्यन्त्र गरेर फसाइएको आरोप लगाउँछन्। बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भने, ‘प्रहरी र रम्तेल मिलेर म माथि सड्यन्त्र गरियो।’

उनले आफू हिरासतमा हुँदा प्रहरीले चरम यातना दिएको बताउँछन्। प्रहरीले पहिलो ६ दिन इलाका प्रहरी कार्यालय, बर्दिबासमा थुनामा राख्यो। यसपछि ७ दिन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हिरासतमा राखेको अर्यालले बताए। उनले पछिल्लो सात दिन सात वर्ष बिताए झै भएको बताए। उनी भन्छन्–‘सात दिनको अवधि मलाई सात वर्ष बिताए जस्तो लाग्यो।’

आफूलाई प्रहरीले सात दिन नसुती उठेर बस्न भनेको र हिरासतमै कुटपिट गरेको अर्यालले बिएल नेपाली सेवालाई बताए।  नेपालको प्रचलित कानुनअनुसार हिरासतमा रहेको व्यक्तिमाथि कुटपिट गर्न मिल्दैन। तर, अर्याललाई हिरासतभित्र कुटपिट गर्दै जबर्जस्ती रुन लगाएर भिडियो खिचेको पनि उनले बताए। उनी भन्छन्–‘प्रहरीले योजनाबद्ध रूपमा मलाई पागल बनाउन खोज्यो।’

शनिबारको दिन पनि पूर्वप्रधानाध्यापक प्रहरी कार्यालय गएर प्रहरीसँग भेट्ने गरेको भन्दै उनले भने-‘म माथि सड्यन्त्र भएको छ।’ अर्याललाई फागुन २५ गते जिल्ला अदालत महोत्तरीले जातीय विभेदको मुद्धामा १ लाख ७८ हजार रुपैयाँ धरौटीमा रिहाई गर्यो।

प्रहरीले दिएको यातनाको कारण बेला-बेला मानसिक तनाव हुने गरेको उनी बताउँछन्। उनी आँखामा लागेको चोटको कारण सहज रूपमा हेर्न समेत सक्दैनन्। उनले आँखाको उपचारको लागि ९० हजार रुपैयाँ खर्च भएको बताए। उनी भन्छन्–‘डाक्टरले अप्रेशन गर्नुपर्छ भनेको छ।’ उनले आफूलाई हिरासतमा टर्चर दिने प्रहरी तथा पूर्वप्रधानाध्यापक रम्तेलमाथि कानुनी कार्यवाही हुनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: : 2021-03-15 12:56:00

प्रतिकृया दिनुहोस्