अमेरिकामा एसियाली अनुहार आक्रमणको निशानामा, एटलान्टामा मारिए ६ महिला

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा एसियाली मुलका मानिसमाथि लगातार जातीय हमला हुदै आएको छ। यही क्रममा मंगलबार सीएनएन र कोकोकोलाको सहर भनेर चिनिने एटलान्टाका तीन मसाज/स्पामा गोलीबारी हुँदा ६ एसियालीमूलका महिलाको ज्यान गएको छ।

अमेरिकाका अधिकांश मसाज र स्पा व्यवसायमा कोरियाली तथा चिनिया मुलका मानिस संलग्न छन्। उनीहरूको मूलकै कारण मसाज र स्पा आक्रमणको निशानामा परेका हुन्।

एटालान्टामा भएका श्रृंखलावद्ध आक्रमण नियोजित रूपमा गरिएको आशंका गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा २१ वर्षीय श्वेत अमेरिकी रोवर्ट आरोन लङ पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा उनको सम्बन्ध श्वेत सर्वोच्चतावादीसँग भएको र उनले एसियाली मुलकमा मानिसमाथि घृणा गर्दै यो नरसंहार मच्चाएको भन्न सकिने प्रमाण मिलेको बताइएको छ।

उनको सम्वन्ध फ्लोरिडामा रहेका श्वेत सर्वोच्चतावादीसँग रहेको र थप आक्रमणका लागि हतियार लिन उनी त्यतैतिर जान लागेको पनि अनुसन्धानबाट पत्ता लागेको छ। उनका अनुसार अरू पनि यस्ता घटनाका लागि मानिसहरू खटाइएका छन्।

यसैबीच एटालान्टामा घटेका यी घटनालाई लिएर अमेरिकाभर रोष प्रकट गरिएको छ। खासगरी एसियालीमुलका अगुवाहरूले यसलाई जातीय नरसंहार भन्दै तीव्र भत्सर्ना गरेका छन् र यस्ता घटना नदोहोरिनका लागि विशेष प्रवन्धको माग गरेका छन्।

घटनाको अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले तिब्र निन्दा गरेका छन्। उनीहरूले एसियाली मुलका मानिसमाथि भएको यो हमला सैह्य नहुने भन्दै यस्तो जातीय उन्मादका लागि अमेरिकामा ठाउँ नभएको बताएका छन्। उनीहरूले पीडितमाथि सहानुभूति व्यक्त गर्दै यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिने प्रतिवद्धता पनि जनाएका छन्। 

यो घटनालाई लिएर रिपब्लिकनहरूले भने अझैपनि मुख खोलेका छैनन्। यसबाट उनीहरू कतै आक्रमणको अप्रत्यक्ष रूपमा समर्थन त गरिरहेका छैनन् भन्ने आशंका जन्मिएको छ।

अमेरिकामा कोरोना भाइरस एसियाली त्यसमा पनि खासगरी मंगोलियन मूलका मानिसले ल्याएको आरोप लगाउँदै उनीहरूमाथि श्वेत-अतिवादीहरूले आक्रमण गर्दै आएका छन्। विगत एक वर्षमा तीन हजारभन्दा बढी आक्रमणका घटना भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।

केही दिन पहिले क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपालीमूलका उबरचालक शुभाकर खड्कामाथि पनि दुर्व्यवहार भएको थियो। इरानी मुलकी महिला मूल जिम्मेवार रहे पनि घटनाको पृष्ठभूमीमा एसियाली मूलका मानिसलाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकता नै रहेको पाइएको छ। 

प्रतिवेदनअनुसार आक्रमणको निशानामा ८० प्रतिशत महिला र अशक्त रहेका छन्। आक्रमण प्रतिकार गर्न नसक्नेमाथि हुँदै आएको छ।

आक्रमण बढ्नुमा तत्कालिन राष्ट्रपति डोनल्ड ट्रम्पको नश्लवादी चिन्तन कारण रहेको बताइन्छ। उनले कोरोनालाई ‘चाइनिज भाइरस’ भन्दै चिनियामुलका मानिसमाथि घृणा फैलाएका थिए। उनका समर्थकहरू चिनियामाथि जाइलाग्ने क्रममा उनीहरूमाथि मात्र हैन, चिनियाजस्तै देखिने मंगोलियन वर्णका कोरियन, थाइ, भियतनानीमाथि पनि जाइलाग्दै आएका छन्।

यस्ता आक्रमणहरू एसियाली मूलका आप्रवासीको बाक्लो बसोबास रहेका न्युयोर्क र क्यालिफोर्नियामा बढी मात्रामा भएका छन्। आप्रवासीप्रति उदार मानिने डेमोक्रेट बुहल यी दुबै नीला राज्य आप्रवासीमैत्री मानिन्छन्।

केही दिन पहिले क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपालीमूलका उबरचालक शुभाकर खड्कामाथि पनि दुर्व्यवहार भएको थियो। इरानी मुलकी महिला मूल जिम्मेवार रहे पनि घटनाको पृष्ठभूमीमा एसियाली मूलका मानिसलाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकता नै रहेको पाइएको छ। 

प्रकाशित मिति: : 2021-03-18 02:45:00

प्रतिकृया दिनुहोस्