मुटु रोगीको दु:ख  ‘घरमा बाढी गयो, जीवनमा पहिरो’

अछुत कोपिला  

कोहलपुर (बाँके)

घरबारी र जायजेथा पहिरोले नबगाएको भए यतिबेला जाजरकोटको नलगाड नगरपालिका -२ को उमिसा गोसाइ पुन र कमल पुन उतै सुखदुःख गरिरहेका हुन्थे होलान्।

सोचे जस्तो, चाहे जस्तो कहाँ हुन्छ छ र जिन्दगी ! यस्तै एक बज्रपात पर्‍यो उनीहरुको जीवनमा पनि।

२०७५ सालमा दल्लीमा बाढी पहिरो आयो। पहिरोले उनीहरु बस्ने घर मात्रै बगायो। गाँस खोस्यो। बस्ने टहरो भत्कायो।

त्यति मात्रै कहाँ हो र! जीविकोपार्जनको एक मात्र स्रोत काठले बनाएको घुम्तीमा एक कोठामा रहेको ‘खुद्रा पसल’ को समेत नामनिशाना नै मेटाइदियो।

दल्लीमै जेनतेन अर्काको घरमा भाडामा बसिरहेका थिए। श्रीमान, श्रीमती र तीन छोराछोरी। उमिसा पहिलेदेखि नै शारीरिक कष्ट हुने काम गर्न सक्दिनथिन्।

उनका पति कहिले ज्याला मजदुरी गर्थे। कहिले  धन कमाउन कालापहाड जान्थे। उनी भने छोराछोरीको हेरचाहमै व्यस्त हुन्थिन्। उनको सानैदेखि पेट दुख्ने समस्या थियो।

करिब आठ वर्षअघिको कुरा हो, एक गैरसरकारी संस्थाले शिविर सञ्चालन गरेको उनीहरुले थाहा पाए।

पत्नीको पेट दुखिरहने हुनाले कमल पुनले शिविरमा उनको स्वास्थ्य परीक्षण गराउने निधो गरे। शिविरकै लागि भनेर अमेरिकाबाट विशेषज्ञ डाक्टर आएका थिए।

पुन दम्पती पनि शिविरमा सहभागी भए। उमिसाको मुटुमा घाउ भएको पत्ता लाग्यो। उनको मुटुमा समस्या भएकोले समयमै उपचार गर्न सुझाए।

उनले थप उपचार गराउन काठमाडौं 'रिफर' गरिदिए। जतिबेला उनको परिवारको सार्वजनिक जमिनमा घुम्ती  बनाएर सानो कोठामा खुद्रा व्यापार गरिरहेको थियो। तीन छोराछोरीसहित उपचारको लागि लागे काठमाडौंतिर।

पहिलोपटक गाडी चढेर काठमाडौं गए, उनीहरु। उमिसा आफूहरु सीधै गंगालाल हृदय रोग केन्द्रमा पुगेको बताउँछिन्। त्यहाँ उमिसाको स्वास्थ्य जाँच भयो।

पछि उक्त अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पठायो। त्यहाँ जाँच गर्दा मुटुमा प्वाल भएको पुष्टि भयो।

‘पहिलादेखि नै पेट दुख्थ्यो। धेरै समस्या भएपछि काठमाडौँ गएका थियौं। मुटुमा प्वाल छ। अप्रेशन गर्नुपर्ने भन्यो अस्पतालले’, कमल पुनले भने।

मुटुको अपरेशनको लागि कुल ६ लाख रुपैयाँ लाग्ने बताइयो। उनीहरुको जीवनमा दोस्रोपटक पहिरो त्यतिबेला नै गएको हो।

अहिलेसम्म निरन्तर छ। रोकिने लक्षण कतैबाट पनि उनीहरुको पाएका छैनन्। मुटुको अप्रेशनको लागि चाहिने पैसा उनीहरुसँग छैन।

उमिससाका उनका तीन सन्तान छन्। दुई छोरी र एक छोरा। उनी मात्रै होइन उनकी जेठी छोरी समेत मुटु रोगी हुन। सात वर्षीया छोरीको पनि मुटुमा कालो धब्बा भएको चिकित्सकले बताएका छन्।

मुटु रोगी आमा र छोरीको उपचार र अन्य दुई छोराछोरीको पठनपाठन र जीविकोपार्जनको लागि श्रीमान ज्याला मजदुरी गर्दछन्।

कमल घरको आर्थिक अवस्था कमजोर भएको र उपचारको लागि लाखौँ रुपैयाँ लाग्ने बताउँछन् तर घरको आर्थिक अवस्थाका साथै बस्नको लागि घर र जमिन केही पनि नभएका कारण सुकुम्बासीको रुपमा बस्दै आएको बताए।

उनीहरु १० महिना पहिला जाजरकोटबाट कोहलपुर आएका  थिए।

उनी श्रीमती र छोरीको उपचार र जीविकोपार्जनको लागि कोहलपुरमा ज्याला मजदुरी गर्दै आएका छन्। श्रीमतीको मुटुको अप्रेशनको लागि ५ लाख रुपैयाँ लाग्ने उनी बताउँछन्।

भन्छन्, ‘हामी त  गरिब मान्छे। बस्ने घर छैन। उपचारको लागि न रुपैयाँ  न त बेचौँ भन्ने जमिन। घरमा बस्न साह्रै अप्ठ्यारो भएपछि कोहलपुरमा बेवारिसे अवस्थामा बसिरहेको छु।’

आफूलाई मुटु दुख्ने समस्या सानै उमेरदेखि नै रहेको  उमिसाको भनाइ छ। उनको पहिलोपटक रजश्वला हुदाँदेखि नै पेट दुःख सुरु गरेको हो।

पहिला उनले सामान्य ठानिन्। खास्सै ध्यान पनि दिइनन्। झन्–झन् पेट दुख्न थाल्यो। हदै भएपछि उनी बैजी (पेट दुखेको मन्तरद्वारा निको गर्ने मानिस) कहाँ  पेटको मन्तरको लागि गइन्। त्यहाँ पनि उनले पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिनन्।

दुःख माथि दुःख पर्दा उनको परिवार भारी दुःखले भरिएको छ। अहिले उनीहरु कोहलपुरमा कहिले माग्दै त कहिले भोकभोकै जीवन जिइरहेका छन्।

दुवै जनालाई  दैनिक औषधि खुवाउनुपर्छ।  खान र बस्ने समेत ठेगान नभएको उनको परिवारमा साँझ विहान औषधि किन्ने पैसा अभाव छ।

‘यहाँ आएपछि धेरै ठाउँ कामको लागि गएर कसैले काम दिएनन्। अहिले मागेर र कहिले मजदुरी गरेर गुजारा चलाउँदै आएको छु। दुवै जनालाई उपचार रुपैयाँ नै छैन। हामी गरिब मान्छे, कहाँबाट यत्रौ पैसा जोहो गर्ने। निकै समस्या भएको छ। छोरी र श्रीमतीको मुटुको प्वाल टाल्ने रुपैयाँ छैन।’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने।

उमिसा बचाउ अभियान 
मुटु रोगी उमिसाको लागि अहिले कोहलपुरमा उमिसा बचाउ अभियान थालिएको छ। सामाजिक क्षेत्रमा काम गर्दै आएको समाज संस्था नेपालले उमिसा पुन बचाउ अभियान सुरु गरेको छ। अभियानको सुरुवात एक विद्यालयबाट सुरु गरिएको हो।

कोहलपुर १४ मा रहेको सृजना बाल प्रा.वि.का विद्यार्थी र शिक्षकले आर्थिक सहयोग गरेर अभियानको सुरुवात गरिएको हो।

उनीहरुले एकमुष्ट ३ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेका थिए। संस्थाका अध्यक्ष  विनोद थापाले उनलाई उपचारमा सहयोग होस् भन्नको लागि ‘उमिसा गोसाइ पुन बचाऔ अभियान’ सुरु गरेको  जानकारी दिए। अहिले पनि अभियान चलिरहेको छ।

प्रकाशित मिति: : 2021-03-18 17:34:00

प्रतिकृया दिनुहोस्