अमेरिकामा बढ्यो ट्याक्स-फाइल म्याद: नेपाली डायस्पोरालाई हर्ष न विष्मत

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा कर दाखिला गर्ने म्याद बढाएर मे १७ सम्म पुर्याइएको छ। सामान्य वर्ष अप्रिल १५ सम्ममा कर दाखिला गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण यो वर्ष कर दाखिला गर्न एक महिना अतिरिक्त म्याद दिइएको छ।

अमेरिकाको संघीय आयकरसम्बन्धी काम गर्ने निकाय आइआरएसले एक प्रेस विज्ञप्ती जारी गर्दै आयकर दाखिलाका लागि म्याद थपेको जानकारी गराएको हो।

कोरोना प्रकोपका कारण सिर्जित स्टिमुलस चेकको अतिरिक्त कार्यभारका कारण आइआरएसलाई यस वर्ष ठूलो कार्यबोझ थपिएको छ। त्यही कार्यबोझका कारण अहिले करिव २ करोड ४० लाख करदाखिला फाइलको काम अघि बढ्न सकेको छैन।

आयकर दाखिलाको म्याद बढ्नु अमेरिकामा रहेका अधिकांश नेपालीका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मत जस्तै हो। जो कम आय भएका वा बनाइएका हुन्छन् र उनीहरू ट्याक्स फाइलका बेला पैसा तिर्नेभन्दा लिने स्थितिमा हुन्छन्, उनीहरूका लागि यो सुविधाको कुनै अर्थ हुदैन।  अमेरिकामा रहेका नेपाली त्यही कोटीमा पर्छन्।

यस्तो कोटीमा पर्नेहरू कर तिनुर्पर्नेभन्दा पनि कर फिर्ता पाउने भएकाले करदाखिला खुलेको एक साताभित्रै करदाखिला फाइल बुझाएर कर फिर्ताको दिन पर्खन थालिसकेका हुन्छन्। उनीहरूका लागि ट्याक्स फाइल गर्नु भनेको कर तिर्ने हैन, कर फिर्ता आउने चाड निम्त्याउनु जस्तै हुन्छ। उनीहरू कर फिर्ताको पैसाले गतिलै काम गर्ने वार्षिक योजना बनाउँछन्।

अमेरिकामा रहेका अधिकांश नेपाली हिसाब गरी गरी काम गर्छन्, कति आम्दानी गर्दा मोटो रकम कर फिर्तामा पाइन्छ, कति काम गर्दा मेडिकेड, फुडस्ट्याम्पलगायतका सारा सरकारी सुविधा पाइन्छ, त्यति मात्र काम गर्छन्। बाँकि समयका लागि भने क्यासमा काम दिने साहू खोजिरहेका हुन्छन्।

अमेरिकामा टयाक्स फाइल गर्ने म्याद मे १७ सम्मका लागि बढेको छ। कोरोना कहरमा राहतको मल्हम लगाउने क्रममा बाइडन प्रशासनले दिएको यो पछिल्लो सुविधा यहाँको  नेपाली डायस्पोराका लागि भने कागलाई बेल पाक्यो हर्ष न विष्मत भनेजस्तै हो। केही अपवादलाई भने राहत भएको छ।

यस्ता अधिकांश साहुहरू छिमेकी मुलुक भारतबाटै अमेरिका आएका हुन्छन्। यी साहुहरू क्यास दिदा सरकारले तोकेको भन्दा कम ज्याला दिदा हुने भएकाले क्यासमा नेपाली कामदार लिन तयार हुन्छन्।

वास्तवमा यो गैरकानुनी काम हो। तर, खासगरी आप्रवासीले अमेरिकालाई ‘पेपर लाइ’ को स्वर्ग बनाएर यस्तो गैरकानुनी काम गर्दै आएका छन्। त्यसमा अमेरिकामा रहेका नेपाली पनि मनग्गै सहभागी छन्। कतिपय कागजविहीन नेपालीका लागि भने यो बाध्यता पनि हो।  

अमेरिकामा रहेका थोरै नेपाली मात्र करदाखिलाको बेला कर तिर्ने कोटीमा पर्छन्। उनीहरूका लागि भने म्याद बढ्दा थोरै भए पनि शान्तवना राहत मिलेको छ। तर, ती नेपाली पनि ठूलो राशीमा कर तिर्नुपर्ने कोटीमा पर्दैनन्। त्यसमाथि पनि उनीहरू ट्याक्स क्रेडिटका अनेकौ शीर्षक खोज्दै छुट लिनका लागि खप्पिस भैसकेका हुन्छन्।

जे होस्, कोरोना कहरमा परेका अमेरिकी करदातालाई बाइडन सरकारले राहतका अनेकौ मल्हम लगाइरहेको छ। यो पनि त्यही राहत श्रृंखलाको पछिल्लो हिस्सा हो।

प्रकाशित मिति: : 2021-03-18 20:39:00

प्रतिकृया दिनुहोस्