नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुक (Park Chong Suk) को सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना ग-यो।
सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए।
तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सुकलाई प्रशंसा पत्र प्रदान गरे भने महासचिव दीपराज गुरुङले माया चिनो प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सुकले नेपालमा तेक्वान्दो खेल निकै लोकप्रिय रहेको र खेलाडी संख्या पनि उल्लेख्य रहेको आफूलाई जानकारी भएको धारणा व्यक्त गरे।
उनले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाइ दिदै अब टोकियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।
अध्यक्ष राणाले नेपाली तेक्वान्दोको विकासमा कोरियाली सरकारको महत्वपूर्ण रहँदै आएको स्मरण गर्दै सुकको कार्यकालमा सहयोगले अझ व्यापकता पाउने विश्वास व्यक्त गरे।
सो अवसरमा एनटीए डेमो टिमले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए।