उर्लाबारी बसपार्क निर्माणको काम अलपत्र बन्दै

तेजन खड्का

उर्लाबारी

मोरङको उर्लाबारी–६ मा ६ वर्ष अघि निर्माण सुरु भएको उर्लाबारी बसपार्क निर्माणको काम अलपत्र परेको छ। उर्लाबारी गाविस हुँदै निर्माण हुन थालेको बसपार्क बजेट अभाबका कारण अलपत्र परेको हो।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७१/०७२ मा बसपार्क निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यो खर्च जग्गा व्यवस्थापन र माटो पुरपारमा सकिएको जग्गा खोजविन समितिका संयोजक अम्बिका बोहोराले बताए।

त्यसपछिका दुईवटा आर्थिक वर्षमा बजेट छुट्टिएन्। आर्थिक वर्ष २०७४/०७५ मा सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले २ करोड ६५ लाख रुपैयाँ छुट्यायो।

सो रकमले बसपार्कको पूर्व र उत्तर कम्पाउण्ड लगाउने, पूर्व पश्चिम राजमार्गसँग बसपार्कलाई जोड्ने चार सय मिटर सडक कालोपत्रे गर्ने र शौचालय निर्माणको काम सम्पन्न भयो।

०७६/०७७ मा ५० लाख रुपैयाँ मात्र आयो। उक्त रकमबाट बसपार्क परिसरमा यात्रु प्रतिक्षालय निर्माण गरियो। गत वर्ष निर्माण भएको यात्रु प्रतिक्षालय यतिबेला सबै भत्किसकेको छ।

स्थानीय बासिन्दाले १ बिगाहा १३ कट्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि २०७२ मा उर्लाबारी बसपार्क निर्माणको प्रक्रिया सुरु भएको थियो। तर, ६ वर्ष बितिसक्दा पनि बसपार्क निर्माण अलपत्र अवस्थामा रहेको छ।

बहुवर्षीय योजना अन्र्तगत निर्माण सुरु भएको बसपार्कका लागि बजेट जुटाउन वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सक्रियता बढाएका छन्।

उनले भने, ‘सङ्घीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपाल सिंह जिमीको सहयोगमा सम्बन्धित निकायमा पुग्यौं। तर, बजेट छैन भन्ने जवाफ आएपछि बसपार्क निर्माण सम्पन्न गर्ने चुनौती थपिएको छ।'

यता उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले बसपार्क निर्माण गर्न अझै १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको भएपनि मन्त्रालयले ४०/५० लाख रुपैयाँ मात्र पठाउने गरेकोले निर्माण सम्पन्न गर्न अझै २० वर्ष लाग्न सक्ने बताए।

बसपार्कको रन वे ,सपोर्टवाल,ड्रेन निर्माण, प्रमुख राजमार्गबाट बसपार्क पुग्ने सडक कालोपत्रे लगायतका काम गर्न बाँकी नै छ।

मन्त्रालयले बसपार्क होइन, रिक्सा स्टेण्ड निर्माण गर्ने गरी बजेट पठाएको छ। उनले सङ्घीय सरकारले चासो नदेखाए अब नगरले विकल्प खोजेर अघि बढ्ने जनाए।

दुर्व्यसनीको अखडा 
स्थानीयका अनुसार अलपत्र बनेको उर्लाबारी बसपार्क अहिले दुर्व्यसनीको अखडा बनेको छ। दैनिक जसो दुर्व्यसनमा लागेका युवाहरु भेला हुने भएकोले कुनै दिन अप्रिय घटना घट्न सक्ने उनीहरु बताउँछन्।

‘इलाका प्रहरी कार्यालय नजिकै भएपनि कहिल्यै सो क्षेत्रमा प्रहरीको गस्ती देखिँदैन’, स्थानीय विवेक हिङमाङले भने,‘दुर्व्यसनीको अखडा बनेको छ, कति बेला के हुन्छ भन्न सकिने अवस्था छैन।’

प्रकाशित मिति: : 2021-03-29 13:15:00

प्रतिकृया दिनुहोस्