रोनाल्डोले खोले २० वर्षअघिको भेदः २००२ को विश्व कपमा किन काटे ‘हाफ मुन’ कपाल ?

ब्राजिलका महान स्ट्राइकर रोनाल्डोले २० वर्षअघि विश्व कपमा खौरिएको कपाल अहिले पनि चर्चाको विषय बन्ने गरेको छ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजना भएको विश्व कपमा फाइनलमा जर्मनीविरूद्ध उत्रिनुअघि उनले ‘हाफ मुन’ स्टाइलको कपाल काटेका थिए। जुन ‘हेयर स्टाइल’ पछि युवाहरूको घरघरमा प्रवेश भएको थियो।

उनले यसबापत विश्वभरिका आमाहरूसँग माफी मागेका छन्। उनलाई त्यतिबेला यो स्टाइल सुहाएको थिएन।

उनलाई पनि मन परेको भने होइन। तर, फाइनलमा उनको प्रदर्शन जुन हिसाबको रह्यो, यसले उनको खेलसँगै ‘हेयर स्टाइल’ पनि प्रसिद्ध बन्न पुग्यो।

रोनाल्डोले हालै स्पोर्ट्स इलुस्ट्रेटलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘वास्तवमै त्यो भयावह थियो। म सबै आमाहरूसँग माफी माग्छु, जसले आफ्नो बच्चाको ‘हेयर कट’ मेरो जस्तै बनाए।’

रोनाल्डोले फाइनलमा ‘हाफ मुन’ कपाल बनाउनुको रहस्य पनि खोलेका छन्। सेमिफाइनलमा टर्कीविरूद्ध खेल्ने क्रममा रोनाल्डो घाइते भएका थिए।

उनको जाँघ तानिएको थियो। यस खेलमा उनले एक गोल गर्न भ्याएका थिए। उनले फाइनलमा त्यस्तो कपाल काट्नुको कारण फिट्नेसतर्फ आफ्नो ध्यान नजाओस् भनेर गरेको बताएका छन्।

‘पत्रकारहरूले पनि म चोटग्रस्त भएको बिर्सिए,’ उनले भने, ‘म साथीहरूतर्फ फर्किए र सोधे, ‘तिमीहरूलाई मन प-यो?’ उनीहरूले भने, ‘परेन, भयावह छ! सबै काट। तर पत्रकारहरूले मेरो ‘हेयर कट’ हेरेपछि म घाइते भएको सबै बिर्सिए।’

उनी आफ्नो योजना सफल भएको बताउँछन्। फाइनलमा रोनाल्डोको दुई गोलको सहयोगले ब्राजिल २–० ले विजयी भएको थियो।

पुरै प्रतियोगितामा रोनाल्डोले कूल ८ गोल गरे। उनी गोल्डेन बुटबाट पनि सम्मानित भएका थिए। ब्राजिलले सन् २००२ यता विश्व कप जितेको छैन।

प्रकाशित मिति: : 2021-03-30 15:51:00

प्रतिकृया दिनुहोस्