पैसाको अभावमा अमेरिकामा एक करोड विद्यार्थी कलेज भर्ना हुनबाट बञ्चित

संजोग आचार्य

न्युयोर्क
Photo : Times Higher Education

कोरोना महामारीले विश्वका सबै मानिसको जीवन प्रभावित भएको बेला अमेरिकामा लाखौं विद्यार्थी स्कुल र कलेज जानबाट बञ्चित भएका छन्।

पैसाको अभावमा यहाँका विद्यार्थीहरू पढाई छोड्न विवश रहेको अमेरिकी मिडियाले जनाएको छ। अमेरिकी जनगणना ब्युरोका अनुसार गत वर्ष ७७ लाखदेखि एक करोडसम्म विद्यार्थीले आर्थिक समस्याका कारण कलेजमा भर्ना पाएनन्। उच्च शिक्षाबाट बञ्चित विद्यार्थीमा सर्वाधिक संख्या गरिबीको रेखामुनि रहेकाहरूको छ। 

‘नेशनल स्टुडेण्ट क्लियरिङ हाउस रिचर्स सेन्टर’ का अनुसार गत वर्षको तुलनामा २०२० मा हाइस्कुलदेखि कलेज प्रवेश गर्ने विद्यार्थीको संख्या ६ दशमलव ८ प्रतिशतले घट्दो छ। 

१७ वर्षकी टायला जोसेफले न्युयोर्कको सेन्ट्रल इसलिप हाइस्कुलबाट अनलाइनमार्फत पढाई पुरा गरेकी थिइन। उनले जागिर खाएर कलेज भर्नाका लागि पैसा पनि बचाएकी थिइन। तर, महामारीका कारण घरमा बस्नुपरेका कारण सबै बचत खर्च भयो। अब उनीसँग कलेज भर्ना गर्ने आवश्यक रकम छैन। टायला जस्तै लाखौ विद्यार्थी पैसाको अभावमा कलेज भर्ना हुन सकिरहेका छैनन्। 

गरिब विद्यार्थीलाई बढी अनुदान दिने कलेजको संख्या पनि ११ दशमलव ४ प्रतिशतले घटेको छ। 

फिलाडेल्फियास्थित टेम्पल विश्वविधालयमा कलेज, समुदाय र न्याय सेन्टरकी निर्देशिका सारा गोल्डरिक राव भन्छिन्, ‘यसको प्रभाव अर्थव्यवस्थामा परिरहेको छ। सबैभन्दा बढी प्रभाव कम्युनिटी कलेजमा परेको छ। अमेरिकाका ३५ प्रतिशत विद्यार्थी यस्तो कलेजमा पढ्छन्। यी कलेज कम आय भएका विद्यार्थीका लागि उच्च शिक्षाको ढोका हो। कम्युनिटी वा जुनियर कलेजमा कम शुल्कमा दुई वर्षसम्म पढ्न सकिन्छ।’

देशको केही विश्वविधालयमा यो वर्ष भर्नाका लागि कीर्तिमानी आवेदन आएको छ। यसकारण एसएटी र एसीटी टेस्ट स्थगित गर्नुपरेको थियो। यसैपनि अमेरिकामा गत वर्षको तुलनामा २०२० मा सबै कलेजको भर्ना १३ प्रतिशतले घटेको थियो। कम्युनिटी कलेजमा मात्र २१ प्रतिशतले भर्ना घटेको छ।

क्लियरिङ हाउस रिसर्च सेन्टरका अनुसार आदिवासी, अश्वेत र हिस्पेनिक विद्यार्थीको भर्ना सबैभन्दा कम छ। ९ सय कलेजले प्रयोग गर्ने ‘कमन ऐप’ का अनुसार यो वर्ष शिक्षाका लागि आवेदन बढेको छ तर पहिलो पल्ट कलेज प्रवेश गर्ने विद्यार्थीको संख्या भने घटेको छ। 

काउन्सिलिङ एजेन्सी एकाडेमी सक्सेस प्रोग्रामकी निर्देशिका सारा उरक्विदेज भन्छिन्, ‘गरिबीको यो चक्र अघिल्लो पुस्तासम्म सर्नेछ।’ 

नेशनल कलेज अटेनमेन्ट नेटवर्क (एनएससीएएन) का अनुसार अध्ययनका लागि केन्द्र सरकारको एजेन्सी फेडरल स्टुडेन्ट एडबाट सहायता लिनेको आवेदनमा पनि ९ दशमलव १ प्रतिशतले कमि आएको छ। यस्तो अवस्था अश्वेत र गरिब क्षेत्रमा रहेको हाइस्कुल विद्यार्थीमा अधिक छ। एजेन्सीका निर्देशक किम कुक भन्छन्, ‘विद्यार्थीहरू सहायता लिने होडबाट पनि बाहिर निस्किन थालेका छन्।’

जनगणना ब्युरोको सर्वेअनुसार बढी आय भएका परिवारको तुलनामा कम आम्दानी हुने गरिब विद्यार्थीहरूले कलेज नजाने निर्णय गरेका छन्। विशेषज्ञहरू यतिबेला यो कुराले चिन्तित छन्– कलेज छोड्ने विद्यार्थीलाई नै यतिबेला उच्च शिक्षाको सर्वाधिक आवश्यकता छ।

जर्जटाउन विश्वविधालयको रिपोर्टअनुसार हाइस्कुल पुरा गरेका अमेरिकी बेरोजगार हुने सम्भावना बढी छ। उनीहरू ग्र्याजुयसन गर्ने मानिसभन्दा हरेक वर्ष पाँचदेखि १९ लाख कम कमाउँछन्।

प्रकाशित मिति: : 2021-04-04 09:04:00

प्रतिकृया दिनुहोस्