नेपाल पावर लिफ्टिङ संघले दुईपटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक समेत रहेका आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जानकारी दिए।
पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने जजेज कमिटीका संयोजक बुद्धी कार्कीले अवगत गराए।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
पुरुष र महिलाका प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल विजेताको पनि चयन गरिने छ।
त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन्। प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ।
अमेरिकामा बस्दै आएका स्व. कार्कीको नेपालमै रहेका बेला केहि महिनाअघि हृदयघाटका कारण निधन भएको थियो।