पुलिसलाई पराजित गर्दै डायमण्ड शिर्ष स्थानमा

नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ।

आज सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५।२२, २५।२२, २५।१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो। यसका साथै डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शिर्ष स्थानमा उक्लन सफल भएको हो। एपिएफ क्लबको पनि समान १० अंक रहेतापनि सेट अन्तरका कारण एपिएफ दोश्रो स्थानमा रहेको छ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा एपिएफले भरतपुर मेट्रो क्लबलाई २५।१३, २५।७, २५।९ को सोझो सेटमा पराजित गरेको हो। एपिएफको पनि ४ खेलबाट १० अंक रहेको छ।

यस्तै तेश्रो स्थानमा ८ अंकका साथ त्रिभुवन आर्मी क्लब र ८ अंकमै रहेको नेपाल पुलिस क्लब सेट अन्तरका कारण चौथो स्थानमा रहेको छ। यसैगरि भरतपुर मेट्रोको ३ अंक र ढोरपाटन स्पोर्ट शुन्यमा रहेको छ।

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ नेपाल पुलिस क्लब एपिएफमाथि भारी पर्याे। पहिलो र दोश्रो सेट २५।२१, २५।२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिस तेश्रो र चौथो सेट २०।२५, १७।२५ ले एपिएफलाई सुम्पन पुग्यो।

पाँचौ तथा अन्तिम सेटमा १५।१३ अंकले जित हात पार्दै २ अंक जोड्न पुग्यो। एपिएफले १ अंक जोड्यो। पुलिसको ५ खेलबाट ९ अंक रहेको छ।

त्यस्तै हारका बावजुत एपिएफको १० अंक भएको छ। यस्तै अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले त्रिभुवन आर्मी क्लबलाई २५।१७, २५।१९, २५।१६ ले पराजित गर्याे। सोझो सेटमा पराजित गरेको हेल्पले आफ्नो अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्दै १५ अंकका साथ शिर्ष स्थान कायमै राखेको छ।

प्रतियोगितामा लिगकाे शिर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ। उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन्।

यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन्। उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: : 2021-04-06 18:39:00

प्रतिकृया दिनुहोस्