प्रचण्डको हात टेक्ने नराम्रो बानी

लामो अन्तरालपछि सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम आए।

उनीसँग जनार्दन शर्मा पनि गृह जिल्ला आएका थिए। 

माओवादीको जिल्ला कार्यसमितिले अयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गतिलै भाषण गरे। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हारेको ठहर गर्दै रामबहादुर थापालाई फटाहाको संज्ञा दिए। उनले उस्तै भाषण गरे, जस्तो उनले २१ वर्ष पहिले यहाँ गरेका थिए। 

कार्यक्रममा उनले भनेका केहि वाक्यले मलाई विगतको याद दिलायो।

प्रचण्ड उनै हुन्, जसले १ फागुन ०५२ मा रोल्पाको पश्चिमी भूभागमा पर्ने होलेरी चौकी आक्रमण गरेर १० वर्षे लामो सशस्त्र जनयुद्ध सुरु भएको घोषणा गरेका थिए। उनी तिनै नेता हुन्, जसले रुकुम र रोल्पाका जनतालाई प्रयोग गरेर केन्द्रिय सत्ता त प्राप्त गरे तर यहाँको जनताका लागि केही गरेनन्।

स्ट्जिरल्याण्डको सपना बाँडेर रुकुम र रोल्पाका सोझासाझा जनतालाई भर्याङ मात्र बनाए। अहिले पनि उनी यसैको निमित्त र्याल काँडिरहेका छन्। रुकुमका जनताले सोमबार प्रचण्डको भाषण सुनेपछि पुनः यसको अनुभव गरे।

रुकुम र रोल्पालाई १० वर्ष निरन्तर जनयुद्धको आधार ईलाका बनाईयो। हजारौ सहिद बने। अंगभंगको हिसाबकिताब छोडौं। टुहुरा र एकल बन्नेको पनि अथाह हिसाबकिताब छ, प्रचण्डसँग यहाँको जनताहरूको। बेपत्ता र विस्थापित औलामा गनेर भ्याइनन्।

वर्ग संघर्ष र मुक्तिको लागि भन्दै रुकुम र रोल्पाका जनतालाई प्रचण्डले खुब सपना देखाए। सुन्दर सपनाको लागि गाँस, बास र कपास नभनी आफ्ना छोरा-छोरी, दाई-भाई, श्रीमान-श्रीमती र सन्तान नभनी जनताले पनि गोलाबारुद खेलाउन थाले। जुन आज वाहियात लाग्छ।

६ वर्षसम्म म आफैपनि बन्दुक बोकेर हिँडेको समय मेरो जीवनकै सबैभन्दा अँध्यारो समय थियो। 

प्रत्येक घरमा खानेपानी आउँछ। नजिकै स्वास्थ्य चौकी हुन्छ। नजिकै विद्यालय हुन्छ। सबैले रोजगार पाउँछन्। कोहि कहिल्यै भोकले अकालमै मर्नु पर्दैन भन्ने जस्ता विभिन्न एजेण्डा लिएर तत्कालीन राज्य सत्ताविरुद्ध माओवादीले बन्दुक उठायो। जसको प्रत्यक्ष शिकार बने रुकुमेली र रोल्पाली जनता।

माओवादीले रुकुमबाट बन्दुक उठाएर देशभर आफूलाई विस्तार गर्यो। रोल्पाली जनतालाई मोर्चामा उभ्यायो। आन्दोलनलाई उचाईमा पुर्यायाे। तर, ५ मंसिर २०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछि प्रचण्डले आफ्नो असली चरित्र प्रदर्शन गरे।

मलाई अझै याद छ- म सहभागी भएको सेना प्रशिक्षण कार्यक्रममा उनले बोलेका वाक्यहरू ‘संसदीय व्यवस्था भनेको बाहिर खसीको मासु देखाएर, भित्र कुकुरको मासु बेच्ने ठाउँ हो’ भनेर। तर आज उनको अवस्था हेर्दा लाग्छ, उनी एक भ्रामक, सर्कस देखाउने जादुगर मात्र हुन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि गोलाबारूद खेलाएर थालेका रुकुमेली जनताका हातले विश्राम पाए। तर त्यो विश्राम हातको मात्र रहेनछ। विश्राम त जनताको सपना र बलिदानमा लागेको रहेछ।

हिजोआज राजनीतिमा उनको अवस्थालाई देखेर मलाई दया लाग्छ। जनताको आँखामा सपना देखाउन खप्पिस ‘प्रचण्ड’ को पुरानो आदत त कहाँ जान्छ र?

प्रचण्डसँगै युद्धको नेतृत्वमा हिँडेका बाबुराम भट्टराईले आफ्नो बाटो रोजीसकेका छन्। सायद रोज्न आवश्यक पनि थियो। नेत्रविक्रम चन्द विप्लव पनि वैज्ञानिक समाजवादको एजेण्डा लिएर प्रचण्डसँग मुख फर्काइ सकेका छन्। हुँदाहुँदा रामबहादुर थापा बादलले पनि प्रचण्डको हात समाउन छाडिसकेका छन्।

प्रचण्डको हात टेक्ने बानी कहिल्यै गएन। त्यो चाहे युद्धताका प्रशिक्षण कार्यक्रममा होस्, या हिजो आजको राजनीतिमा। उनको हात देख्ने बित्तिकै मलाई उनको खाना खाने बानीको याद आउँछ। 

युद्धको बेला प्रचण्डसँग प्रशिक्षण कार्यक्रममा एक दुई पटक देखभेट् भएको थियो। त्यो खाना खाने मेचमा। उनी प्रायः मेच राखिएको घरभित्रै बसेर खान्थे। हाम्रो समाजमा हात टेकेर खानु हुँदैन भन्छन्। तर मलाई के थाहा- प्रचण्डले हात टेकेपछि इश्वरको पनि केहि लाग्दैन भनेर। 

लिस्ने भिडन्तको लागि उनले प्रशिक्षण दिँदै भनेका थिए- 'यो युद्ध हाम्रो मात्रै हैन, नेपाली जनताको हो।'

आज उहाँलाई सुझाव दिन मन लाग्छ- हात टेक्ने बानी छाड्नुहोस् कमरेड- खाना खाँदा मात्र होइन, राजतीतिमा पनि।


विचलन प्रचण्डमा आएको हो, हामीमा होइन: लेखराज भट्ट (अन्तर्वार्ता)

'लुम्बिनी प्रदेश–सरकार पाँच वर्षसम्म यथावत रहन्छ': भूमिश्वर ढकाल (अन्तर्वार्ता, भिडियो)

के सोनिया गान्धीको ‘अपमान’ २०४५ सालको नाकाबन्दीको एउटा कारण थियो? {भिडियाे}

प्रकाशित मिति: : 2021-04-07 20:51:00

प्रतिकृया दिनुहोस्