रोमाञ्चक र साहसिक 'मेरा पिक' यात्रा (तस्वीरहरु)

बज्र विर

काठमाडौँ

समुन्द्र सतहदेखि ६४७० मिटरमा अवस्थित मेरा पिक नेपालको अग्लो ट्रेकिङ पिकमध्येका एक सहासिक गन्तव्य हो।

यात्रामा देखिने अनुपम र आश्चर्यजनक दृश्यहरूको कारण यो पिक नेपालकै सुन्दर एवम साहसिक गन्तव्यको रुपमा विदेशी पर्वतारोहण यात्रीहरूको रोजाइमा परेको छ।

प्राविधिक रूपमा गाह्रो नभएपनि संघर्षशिल र अत्याधिक उचाई भएकोले यसलाई रोमाञ्चक र चुनौतीपूर्ण यात्राको रुपमा लिइन्छ।  पछिल्लो समय साहसिक यात्रा मन पराउने आन्तरिक पर्यटकहरुको माझपनि लोकप्रिय हुन पुगेको छ, मेरा पिक यात्रा।

यहिबीच हामी ९ जनाको सहासिक टोलीपनि गत तिहारलगत्तै २ जना गाइडको सहयोगमा  मेरा पिक चढेका थियौ। यहाँ मैले त्यहीँ यात्राको संक्षिप्त अनुभव बाँड्ने प्रयास गरेको छु। 

पहिलो दिनः काठमाण्डौँदेखि बुङ
हामीले काठमाण्डौको चावाहिल चोकबाट ३ बजे रातीनै यात्रा प्रस्थान गर्‍यौ। ३.१५ बजे फोर ह्वीलर जीपमा हाम्रा सबै सामानहरू लोड गर्‍यौ र हाम्रो साहसिक यात्रा सुरु भयो। सल्लेरीमा खाजाको केहि बेर रोकियो। हामी साँझ ७ बजेतीर बुङ पुग्यौ। त्यहाँ हाम्रो गाईड अङ्कामी बुवा र मिङमा भाई हाम्रो पर्खाइमा थिए। राउण्ड टेबलमा हाम्रो छोटो परिचयसहित विशेष शु चिया र छ्याङको चुस्कीमा होटलका मालिक जङ्बु दाईले उत्कृष्ट आतिथ्यता दिए। र त्यो रात होटलमा बास बस्यौँ। हामीले बेलुकी स्थानीय दाल भात, तरकारी र अचार खायौँ। बिहान ब्रेकफास्ट गरेपछि चोलेमको लागी हाम्रो ट्रेक शुरू भयो। 

दोस्रो दिनः बुङदेखि चोलेम
बिहानै आङ्कामी बुवाले ट्रेकबारे संक्षिप्त जानकारी गराए। मिङ्माजीपनि सुरुदेखि अन्तिमसम्मको गाइडको लागी तयार भए। बुङदेखिको पदयात्रा विस्तारै सुरु भयो। हाम्रो यात्रा गाउँहरुमा सुन्दर दृश्यहरु अवलोकन गर्दै अगाडी बढ्यो। विद्यार्थीहरु मास्क पहिरिएर स्कुल जादै थिए। बुढापाकाहरु कौँसीमा बसिरहेका थिए भने महिलाहरु धारातीर पानी लिन जादैँ थिए। कोही घाँस काटिरहेका थिए भने कोही जङगलबाट मालिङ्गो ल्याइरहेका थिए। भेडा र बाख्राका बथान मैदानमा चरिरहेका थिए। स्थानीय गोठालाहरु गाइवस्तु चराउँदै थिए।सुन्दर बारी र चौर हुँदै ३ बजेतीर हामी खिरौले पुग्यौँ। खिरौला गुम्बा दर्शन गरेर हरियाली डाडा र गुराँसे जङगल, कलकलाउँदो झरना खोला नाला हुँदै अघि बढ्यौँ। चराखोर पुगेर केही बेर आराम गर्दै नास्ता खायौ। साँझपख ३५५० मिटर अग्लो चोलेम पुगियो। बेलुकीको खाना खाएर बास बसियो। 

तेस्रो दिनः चोलेमदेखि खोलाखर्क
अर्कोदिन बिहानै खाजा खाएर हाम्रो यात्रा चोलेमतर्फ सुरु भयो। केही बेरको उकालो हिडेँपछि हुरहुरे डाडाँ पुग्यौँ, जहाँबाट सोटाङ, बुङ, छेस्कम र गुडेलका सुन्दर पहाडको अवलोकन गर्न सकिन्छ। भञ्ज्याङ कटेर केहीबेर ओरालो हिडेँपछि पाँचपोखरी पुग्यौँ। यो पवित्र स्थल हो, जहाँ तिर्थालुहरु पुजा गर्न आउाछन्। केही बेरको आरामपछि सानो उपत्यका खोला खर्क पुगेर बास बस्यौँ।  



आकाशै-आकाश डोल्पासम्म (फोटो/भिडियो)



चौथो दिनः खोलाखर्कदेखि कोठे (३५०० मिटर)
बिहानको खाजापछि पदयात्रा सुरु भयो। उकालो चढेपछि पाँचपोखरीको मनोरम दृश्य हेर्दै ओरालो यात्रा सुरु भयो। गुराँसे जंगल, सल्लाको रुख र खोला नालाको छङछङ आवाज सुन्दै जंगलको नागवेली पदमार्ग पछ्याउदै ईखु खोलाको पुल तरेर कोठे पुग्यौँ। 

पाचौँ दिनः कोठेदेखि थाङना (४३५० मिटर)
बिहानपख नास्ता खाएर यात्रा सुरु भयो। बाटामा चौरी चरिरहेका दृश्य अवलोकन गर्दे हिङ्कु उपत्यकाको डाँडामा पुग्दा मेरा पिकको पहिलो दृश्यले मन प्रफुलित बनायो। थाङनाकमा केहि लज र होटलहरु छन। रातको बास त्यही बस्यौँ, हामी। 
 
छैठौँ दिनः थाङनादेखि खारे (५०४५ मिटर)
केहीबेर ओरालो हिडेँपछि तामापोखरी, डिग खर्क हुँदै खहरे पुगियो। यहाँबाट मेरा पिकको मोहडा देखिन्छ। बेलुकी खारेमा बास भयो।



स्याउलीवाङ : एक स्वर्ग !  (फोटो फिचर)



सातौ दिनः वायु अनुकुलताको (एक्लिमिटाइज) लागि खारेमै आराम
बिहान उठेर खाजा खाएर शेर्पाले पर्वतारोहणको लागि जानकारी गराए। दिउँसोको खानापछि पर्वतारोहणको उपकरण लगाउन र हिँड्न सिकाए। यो दिन हाम्रो गाइड मिङमा भाइ र आङ्कामी बुवाले  पहाड चढ्ने तालिम र अन्य कौशलताको ज्ञान प्रदान गरे। वास्तवमा भन्नुपर्दा त्यो दिन तालिम र आराम मै बित्यो।

आठौ दिनः खारेदेखि हाइक्यामसम्म (५७८० मि) पदयात्रा
बिहानको नास्तापछि हाइक्यामसम्मको यात्रा सुरु भयो। होटलबाट प्याक लञ्च बोकेर उकालो तेर्सो बाटो पार गर्दै अगाडि बढ्यौँ। त्यसपश्चात मेरा बेस क्याम्प पुग्यौँ। त्यहाँ पुगेर हामीले आराम गर्यौ र फोटो खिच्यौ। हाम्रो गाइडले फेरी हिउँमा हिँड्ने तालिम दिए। मेरा ला पास गरेर यात्रापछि हाइक्याम्पसम्म पुगियो। त्यसदिनको बास हाईक्याम्पमा भयो । भुल्न नहुने कुरा, चश्मा,डाउन ज्याकेट, पञ्जा र सनक्रिम अनिवार्य लगाउनु पर्छ। 

नवौ दिनः शिखर पुग्ने दिन (६६५४ मिटर) मेरा पिक चुमेको दिन 
त्यो दिन विशेष थियो। हावा चलिरहेको थियो। मौसम निकै चिसो थियो।  (१५देखि (२० डिग्री सेल्सियस तापक्रम थियो। बिहानै ३ बजेतीर नास्ता खाएर शिखरतर्फ यात्राको लागि तयारी गरीयो। मिङमा भाइले क्लाइम्बिङ गियर लगाउन सघाए। चश्म , हार्नेस, रोप, क्र्याम्पन, जुत्ता, हेडलाइटसहित टोली तयार भयो। गाइड अघि, हामी पछि गर्दै यात्रा आरम्भ भयो। घाम झुल्किनेबेलासम्म हामी ६००० मिटरमा पुगिसकेका थियौ। एक अर्कालाइ सहयोग गर्दै, आराम गर्दै तातो पानी पिउँदै यात्रा अगाडी बढ्यो। बेलाबेलामा सास फेर्न  गाह्रो हुन्थ्यो। विस्तारै आराम गर्दै, चकलेट खादैँ  निरन्तरको प्रयासमा अन्ततः ९.३० बजे हामी मेरा पिकको शिखरमा पुग्यौँ। 



थबाङ : जहाँ गाउँलेहरु एक-अर्कालाई 'कमरेड' भनेर सम्बोधन गर्छन् (फोटो फिचर)



शिखर चुमेपछि
शिखरबाट देखिने दृश्य मनमोहक थियो। चारैतीर हिमाल, आफूभन्दा तल देखिने बादल र निलो आकाशले सबैको मन हुरुक्क बनायो। हामीले एकआपसमा खुशी र उत्साह साट्यौ।  मेरा पिकको चुचूरोबाट देखिने ८ हजार मीटरका पाँचभन्दा धेरै चुचुराहरूको सुन्दर दृश्यले मन्त्र मुग्ध बनायो, सबैलाई। सगरमाथा (८८४८.८६ मिटर), चो(यु (८२१० मी), लोत्से (८५१६ मि), मकालु (८४६३ मि), कञ्चनजंघा (८५८६मि), नुप्ट्से (८४६३मि), चाम्लाङ (७३१९मि), बरुन्चे (७१२९ मि), आमा डाव्लाम ( ६८१२मि), काङतेगा (६७७९मि) लगायतका हिमाल नजिकबाट नियाल्दा निकै भाग्यमानी महशुस गर्यौ। उच्च चुचूरोमा पुगेर केही बेर सुन्दर दृश्यमा रमायौ। करिब १० मिनेट त्यहाँ बसेर फोटो खिचियो। केही समयपछि केही तल झरेर तातो पानी, विस्कुट, चकलेट खायौँ। त्यसपछि विश्रामको लागि हामी खारेमा झयौँ। चुचूरोमा पुगेको दिन हामी सबैको लागि अविस्मरणीय दिन थियो। 



दशौँ दिनः खारेदेखि कोठेसम्म पदयात्रा
बिहान ब्रेकफास्टपछि १६०० मिटर तल कोठेसम्म झयौँ। 

एघारौँ दिनः कोठेदेखि छत्रे खोला 
बिहानको नास्तापछि फर्किने यात्रा सुरु भयो। काठे पुल तरेर सल्ला र गुराँसे जंगल पार गदैँ टक्टोरमा दिनको खाना खायौँ। बेलुकि चत्रा खोलामा आरामदायी बास बस्यौँ। 



‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा



बाह्रौँ दिनः छत्रे खोलादेखि रमाइलो डाँडा
बिहान रमाइलो डाँडाको यात्रा सुरु भयो। पदयात्रामा सल्लाको जङगल, गुराँसेसगैँ प्राकृतिक सुन्दरता अवलोकन गर्दै पार गरियो। यात्रामा कहिलेकाही जङ्गली बाख्रा, लोपोन्मुख जनावरपनि देखिए। बेलुकी रमाइलो डाँडा पुगेर बास बस्यौँ। 

तेह्रौँ दिनः  रमाइलो डाँडादेखि खरीखोला
बिहानको नास्ता खाएर बारीमा स्थानियहरु काम गर्दै गरेको दृश्य, गाइवस्तु चरिरहेको दृश्य हेर्दै ओरालो पदयात्रामा सिवुचे पुगियो। गाउँतीर शेर्पाका जिवनशैली अवलोकनले यात्रालाइ रोमाञ्चक बनायो। खरीखोलामा रातको बास बस्यौँ।  

१४औँ दिनः खरीखोलादेखि काठमाण्डौँ 
बिहानको नास्तापछि जीप कुरीरहेको थियो। दिउँसोतीर सल्लेरी पुगेर लञ्च पछि बेलुकी १०(१२ घण्टामा काठमाण्डौँ आइपुग्यौ। 

मेरा पिक शिखर चुम्न सहयोग गरेकोमा आङ्कामी वुवा, मिङमा भाइ र क्लाइम्विङ शेर्पा दाइलाई यही अनुभवबाट सप्रेमसहित धन्यवाद भन्न चाहन्छु।

ट्रेकिङ आवश्यक सामाग्रीः
सजिलो टिसर्ट, लामो बाहुला टिसर्ट, ट्राउजर, न्यानो ज्याकेट, ग्लोव, टोपी, चश्मा, डाउन ज्याकेट, स्लिपीङ ज्याकेट, म्याट्रेस, ट्रेकिङ बुट, न्यानो मोजा, टर्चलाइट, पानी बोटल, ट्रेकिङ पोल, क्यामेरा , किताब आदि। 

-लेखक साहसिक यात्री तथा मेरा पिक आरोहण दलका सदस्य हुन्। 
- फोटो सौजन्यः नविन उप्रेती र आङ कामी शेर्पा

प्रस्तुती : घुमफिरे 

प्रकाशित मिति: : 2021-04-09 20:40:00

प्रतिकृया दिनुहोस्