मोरङको रतुवामाई नगरपालिकामा २०७८ वैशाख ३ गतेदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ।
नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा मेयर कप टि २० क्रिकेट प्रतियोगिता वडा नं. ७ स्थित गडीझार खेलमैदानमा हुने भएको हो।
खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ। समितिका सदस्य सचिव सुजित जैसवालका अनुसार प्रतियोगितामा नगरका १० वटै वडाका टिमका सहभागिता रहने छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख, दोस्रोलाई नगद ५० हजारसहित ट्रफी प्रदान गरिने भएको छ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार, प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजारसहित ट्रफी प्रदान गरिने समितिका अध्यक्ष मंगलसिंङ चोङबाङले बताए।
खेलकुद विकास समितिले मंगलबार नै प्रत्येक वडाको टिमलाई जर्सीसहित खेल सामग्री प्रदान गरेको छ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने उद्घोषका साथ युवाहरूको क्षमता विकासका लागि प्रतियोगिता आयोजना गरिएको चोङबाङले बताए। प्रतियोगिता वैशाख ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।