अविरलले जिते ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ काे उपाधी 

युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि जितेका छन्। 

जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलम आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन्। विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ।

आकर्षक भिडन्तमा सो प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेका छन्। घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि जितेका थिए।

जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन्। विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो।

सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो।

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए।

प्रकाशित मिति: : 2021-04-25 16:39:00

प्रतिकृया दिनुहोस्