काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक आज बस्दैछ।
काेराेना संक्रमणकाे दर तीव्र गतिमा बढी रहेकाे अवस्थामा छलफल गर्न सीडीओ कार्यालय काठमाडाैंमा बिहान ९ बजे बैठक बस्न लागेकाे भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिए।
कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे छ।
यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। काठमाडौंमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो।
सीडीओ भट्टराईले कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे छलफल गरी निर्णयमा पुगिने बताए।
'सक्रिय संक्रमितको संख्या सीसीएमसीले तोकेको मापदण्डभन्दा धेरै छ। काठमाडाैंमा मात्रै ९ सय बढी संक्रिय संक्रमित रहेका छन्। त्यसैले एकैपटक तीनै जिल्ला लकडाउन हुनसक्छ,' उनले भने।
यसैबीच, काठमाडौं उपत्यकाका तीनवटा सीडीओ कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा आजदेखि एक साताका लागि बन्द गरिएकाे छ।
यस अवधिमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र प्रदान गरिने छैन। यस्तै, राहदानी वितरण तथा सिफारिस र हातहतियार दर्ता नवीकरण पनि नगरिने जनाइएकाे छ।
संस्था दर्ता तथा नवीकरण र पत्रिका दर्तालाई पनि हालका लागि राेक्का गरिएकाे छ। यस्तै, शान्ति सुरक्षासँग सम्वन्धित निवेदन तथा मुद्दासँग सम्वन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसहरु भने दिइने कार्यालयले जनाएकाे छ।
बैठकले बढी भिडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रुपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ।