लगातार तीन अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका कुशल भन्छन्- घरेलु मैदानमा मेरो नाममा हुटिङ होस् भन्ने सपना थियो

देशसञ्चार

काठमाडौँ

घरेलु मैदानमा गत शनिबार सम्पन्न त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेर नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। नेपालको यो पहिलो टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट उपाधि थियो। प्रतियोगितामा नेपालले केही नयाँ राष्ट्रिय कीर्तिमान पनि बनायो जसको चर्चा वर्षौँसम्म नेपाली क्रिकेटमा हुने छ। लगातार दुई खेलमा पहिलो विकेटका लागि सतकीय साझेदारी, लगातार दुई खेलमा ९ विकेटको जित,लगातार तीन खेलमा २ सय भन्दा बढी रनको लक्ष्य पेश, टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ३८ रनको योगफल अनि एक सय ४२ रनको जित, यी नेपाली राष्ट्रिय कीर्तिमानहरु तोडिन पक्कै पनि वर्षौँ लाग्ने छ। यी सफलताको मेरुदण्डका रुपमा रहे ओपनिङ ब्याट्सम्यानद्वय कुशल भुर्तेल  र आसिफ शेख। दुवैको यो पहिलो सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। कुशलले पहिलो खेलमै  नयाँ राष्ट्रिय कीर्तिमान बनाए भने तेस्रो खेलसम्म पुग्दा विश्व कीर्तिमान बनाउन सफल भए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युदेखि लगातार तीन खेलमा यसअघि कसैले पनि अर्धशतक बनाएको थिएन।  प्रतियोगितामा नेपालले खेलेका पाँच खेलमा चारवटा अर्धशतक बनाएका भुर्तेललाई प्लेयर अफ दी म्याचको अवार्ड पनि प्रदान गरियो। उनै २४ वर्षीय भुर्तेलसँग देशसञ्चारका  लोकेन्द्र प्रसाईले गरेको कुराकानीको सम्पादिश अंश  : 

१.पहिलो खेल त्यो पनि घरेलु मैदानमा, अर्धशतक अनि ओपनिङ ब्याट्सम्यान, अनुभव कस्तो रह्यो ? 

-राम्रै रह्यो अनुभव। इन्डिभिज्युअलभन्दा पनि टिमले राम्रो गर्‍यो। सुरुदेखि नै नेदरल्याण्ड्सलाई डोमिनेट गर्ने हाम्रो प्लान थियो। त्यो अनुसार हामी ‘सक्सेस’ भयौँ। परिणाम : हामीले उपाधि जित्यौँ।

२.नेपालको ब्याटिङलाई लिएर जहिल्यै प्रश्न उठ्ने गर्थ्यो। कमै  लक्ष्य पाएपनि पूरा गर्ला कि नगर्ला भन्ने हुन्थ्यो। तपाई नयाँ खेलाडी भएको हिसाबले ओपनर ब्याट्सम्यानका रुपमा पठाउँदा दबाब कत्तिको थियो? 

-म र मेरो पार्टनर आसिफको रोल क्लियर थियो- ६ ओभरको पावर प्ले ‘युज’ गर्ने। खेलेर आएका केटाहरु थिए सबै। पीएम कप खेलेका थियौँ, मेयर कप खेलेका थियौँ। बन्द प्रशिक्षणमा पनि केटाहरुले राम्रो नै गरिरहेका थिए। बन्द प्रशिक्षणमा  २ सय रनको लक्ष्य पूरा भइरहेको थियो,१५/१६ ओभरमा। विकेट पनि राम्रो थियो। दबाब कसैलाई पनि थिए। राम्रो भएपनि नराम्रो भए पनि सबैले सहयोग गरिरहनु भएको थियो। मलाई पहिलो खेल भनेर प्रेसर केही थिएन। नर्मल गेम खेलिरहेको थिएँ। नेदरल्याण्ड्ससँग ९ विकेटले सजिलै जित्यौँ। आसिफ र मबीच एक सय १६ रनको साझेदारी भयो।

प्रकाशित मिति: : 2021-04-27 21:48:00

प्रतिकृया दिनुहोस्