नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल बाँकेले कोभिड–१९ संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि अस्पतालको खर्च व्यहोर्ने भएको छ।
कोभिड–१९ महामारीको बढदो संक्रमणले बाँके जिल्ला आक्रान्त बनिरहेको बेला युवा संघ बाँकेले गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुको उपचारमा सहयोग पुर्याउन दैनिक १० बेडको खर्च सहयोग गर्ने भएको छ।
आर्थिक रुपले गरिब, विपन्न परिवारका व्यक्तिहरुले प्रयोग गरिरहेको अक्सिजन सहितको १० बेड सहयोग गर्न लागिएको एमाले युवा नेता तथा युवा संघ नेपालका महासचिव दिपक जि एमले बताए।
यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटी सदस्यहरु तथा पार्टी कार्यकर्ताहरुबाट करिब ७ लाख सहयोग प्राप्त भएको उनले बताए। एमाले नेता अव्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजन सहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ।
साथै बाँके जिल्लाले शुरु गरेको यस कार्यमा पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पनि आर्थिक सहयोग गरेको नेता जिएमले बताए।
सरकारले सबै कोरोना संक्रमित बिरामीहरुको सम्पूर्ण रुपमा निशुल्क उपचार गराउनुपर्ने दायित्वलाई सम्झाउन पार्टीले यो अभियान संचालन गरेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए।
जिल्लाको एकमात्र सरकारी अस्पताल भेरीले माग धान्न नसकिरहेको र निजी तवरबाट संचालन भइरहेको मेडिकल कलेज कोहलपुरमा सरकारले सबै खर्च उपलब्ध गराएको छैन्।
यो अभियानका लागि एमाले बाँकेले पार्टी नेता दलबहादुर सुनार र अशोक कोइराला संरक्षक तथा सचिव रत्न खत्रीको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ।
नेता जिएमले यो अभियानमा जोडिन सम्पूर्ण पार्टी कार्यकर्ता, युवा विद्यार्थी तथा शुभेच्छुकहरुलाई आहवान गरेका छन्।
कोभिड–१९ बिरुद्धको लडाईमा सिंगो समाज लडिरहेको बेला देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय युवा संघले यस अघि नै गरिसकेको छ।
युवा परिचालन तथा व्यवस्थापनका लागि केन्द्रमा केन्द्रीय कोभिड–१९ केन्द्रीय समन्वय समितिले संयोजन गर्ने र मातहतमा जिल्ला कमिटी तथा स्थानीय तह (पालिका स्तरीय) कमिटीले स्वयंसेवकको व्यवस्थापन एवं परिचालन गर्ने निर्णय भईसकेको युवा संघ नेपालका प्रवक्ता संजिप राईले बताए।