काेराेना भयावह हुँदा भारतका ठूला शहरमा काम गर्ने नेपालीको दूर्गति

करन साउद

मुम्बई
Breaknlinks
Breaknlinks

सन् २०१९ बाट सुरु भएको कोरोना भाइरस संक्रमण (कोभिड-१९) ले अहिले विश्वलाई त्रसित बनेकाे छ। विश्वका शक्तिशाली र सम्पन्न देशहरुलाई समेत कोरोनाको रोकथामको र नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ।

कोरोनाकै कारण विश्वभर असंख्य मानिसले ज्यान गुमाइरहेका छन्। आफन्त गुमाइरहेका छन् जुन आफैमा दुखद पक्ष हो। कोरोनाको कारण विश्वका कयौ शक्तिशाली राष्ट्रहरुको अर्थतन्त्र कमजोर हुँदै गएकाे छ। 

कोरोनाको कारण अधिक मृत्यु हुने देशहरुमा अमेरिका, स्पेन र ईटली थिए तर पछिल्लो ती देशहरुलाई भारतले उछिन्न थालेको छ। भारतमा हालको तथ्याकं हेर्ने हो भने अवस्था निकै भयावह छ।

भारतको आर्थिक राजधानी अर्थात् हरेक व्यक्तिले आफ्ना सपनाहरू पूरा गर्नको लागि रोजगारी गर्न जाने ठाँउ मुम्बई पनि कोरोनाको चपेटामा परेको छ।

काेराेनाका कारण पत्याउन नसकिने घटनाहरु घटिरहेका छन्। यहीँ परिस्थितिलाई मध्यनजर गर्दै भारत सरकारले अप्रिल २०२१ बाट फेरि सबै राज्यमा लकडाउन पनि लागू गरेकाे छ।

हजाराैँ–हजार नेपालीहरू बिचल्लीमा परेका छन्। महामारीकाे त्रासले जाेखिम माेलेर स्वदेश फर्कने क्रम उस्तै छ। होटेल, कम्पनीलगायत अन्य क्षेत्रमा काम गर्दै जिविका चलाईरहेका नेपालीहरू स्वदेश फर्किसकेका छन्।

पहिलो चरणको कोराेना महामारीभन्दा यसपटककाे भाइरस निकै खतरानाक र जोखिमपूर्ण रहेको पछिल्ला दृश्यहरूले तथ्यगत रूपमा पुष्टि गरिसकेकाे छ। यसबीचमा थुप्रै नेपालीहरूले ज्यान गुमाइसकेका छन्। कयौँ संक्रमित भएर उपचार्थ छन्। भारतमा रहेका नेपालीमाथि समस्या नै समस्या छन्।

आफ्नै देशका नागिरकहरूकाे यस्ताे हालत हुँदासम्म नेपाली दूतावास कानमा तेल हालेर सुतिरहेको छ। आफ्नो कर्तव्य र कार्यप्रति गैरजिम्मेवार देखिएकाे छ। 

धेरै जनसंख्या र बाक्लो बस्ती भएका कारण मुम्बईमा कोरोना संक्रमितको संख्या अधिक देखिन्छ। सपनाको शहर मुम्बईमा लाखौं नेपालीहरुले रोजगारी गर्दै आएका छन्। होटेल, कुक, कम्पनी, वर्कर, गाडी, चालक, सेक्युरिटी गार्डदेखि लिएर घरमा खाना पकाउने काममा समेत प्रायः नेपालीहरु नै रहेको पाइन्छ।

हजारौं नेपालीहरु मुम्बईका विभिन्न ठाँउमा आफ्नै घर बनाएर व्यवसाय पनि गर्दै आईरहेका छन्। नेपालीहरुको बाक्लो संख्या रहेको मुम्बईमा यतिबेला भने भने नेपालीहरुलाई ठूलो समस्या आइलागेको छ।

कोरोना संक्रमितको संख्या तीव्र रुपले बढेपछि महारास्ट्र सरकारले अप्रिलदेखि लकडाउन सुरु गर्‍याे। त्यससँगै होटेल, कम्पनी, अफिसलगायत थुप्रै ठाँउबाट काम बन्द भएर नेपालीहरुले हात धुनु परेको छ। काम बन्द भए लगत्तै लाखौं नेपालीहरु नेपाल फर्किएका छन् भने कयौं फर्किने अवस्थामा छन्।

काम सञ्चालन भएर ड्यूटी गरिरहेका नेपालीलाई पनि तलब कटौती गरेर पारिश्रमिक पाइरहेको गुनासो पनि सुन्निरहेका छन्।

फाट्टफुट्ट रूपमा मुम्बईमा भएका नेपालीलाई पनि कोराेना पुष्टि भएको छ। ती मध्ये केहीलाई ठीक भएको छ भने केहीले ज्यान नै गुमाइसकेका छन्। अतः यो महामारीको समयमा मुम्बईमा भएका सम्पूर्ण नेपाली दाजुभाइहरुले आ-आफ्नो सुरक्षा आफैँ गर्नुहोला।

काम परेमा मात्र बाहिर जानुहोला। बाहिर जाँदा मास्कको अनिवार्य  प्रयोग गर्नुहोला। बाहिरबाट आएपछि साबुन पानीले हात धुनुहोला। नेपाल फर्किने तयारी गरिरहनु भएको छ भने गाडीमा सुरक्षित भएर जानुहोला भन्ने सन्देश दिन चाहन्छु।



एकैदिन सात हजार ४४८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु 

तमीलाई त किताब मात्र देखाया हुँ, हजुर !

प्रकाशित मिति: : 2021-05-04 06:49:00

प्रतिकृया दिनुहोस्