बन्ला त प्रधानमन्त्री ओलीविरुद्ध महागठबन्धन ?

अनलाइनखबर

काठमाडौं

सइन्द्र राई

प्रदेशबाट सुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको जनता समाजवादी पार्टी (जसपा) को एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) पक्षको गठबन्धन राष्ट्रियसभा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि थपिएको छ ।

चार पक्षले बाग्मती प्रदेशतर्फ खुला सदस्यमा डा. खिमलाल देवकोटालाई अघि सारेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदका ६ जेठमा हुने उपनिर्वाचनमा हुँदैछ । उपनिर्वाचनमा बादल नै उम्मेद्वार बन्ने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठकलाई १० वैशाखमै दिएका छन् । माओवादी छोडेपछि बादल सूर्य चिन्हबाट चुनाव लड्दैछन् भने एमाले पृष्ठभूमिका देवकोटा चाहिँ हसियाँ हथौडा चिन्ह लिएर मैदानमा उत्रनेछन् ।

एक नेताका अनुसार एमालेको माधव नेपालतर्फ उभिँदै देवकोटा साझा उम्मेद्वार बन्न लागेका हुन् । बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्ष नियुक्त देवकोटाले मुख्यमन्त्री डोरमणि पौडेलसँग असहमति जनाउँदै राजीनामा दिएका थिए । उनै देवकोटा साझा उम्मेद्वार बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेषगरी प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धन गर्ने प्रयासमा रहेका दलहरुले बादलविरूद्ध साझा उम्मेद्वार तय गर्नुलाई निकट राजनीतिक घटनासँग पनि जोडेर हेरिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि संसदको विशेष अधिवेशन २७ वैशाखमा बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपाभित्र महन्थ ठाकुर–राजेन्द्र महतोहरुसँग फरक मत राखिरहेका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि ओली सरकारको विपक्षमा छ भने एमालेभित्र अलग संगठनात्मक संरचना बनाएको माधव नेपाल समूहमा सामूहिक राजीनामा दिने निष्कर्ष नजिक पुगेको छ ।

यस्तोबेला राष्ट्रियसभा उपचुनाव बनेको गठबन्धन प्रधानमन्त्री ओलीविरुद्ध पनि कायम रहनसक्ने नेताहरुले बताउँछन् । ‘केपी ओलीको स्वेच्छचारी सरकारविरुद्ध दलहरू एक हुनुपर्छ भन्ने हाम्रो प्रयत्न हो । कांग्रेसको निर्णयले कोर्स त्यसतर्फ बढेको छ’, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल भन्छन् ।

प्रकाशित मिति: : 2021-05-06 12:12:00

प्रतिकृया दिनुहोस्