प्रदेश नं २ मा ४१७ अस्थायी दरबन्दी थप

प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ।

 प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो। 

प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रदेश सरकारले सर्लाहीका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कोरोना सङ्क्रमण व्यवस्थापनका लागि सर्लाहीका फोकल पर्सन रामनरेश रायले जानकारी दिए। 

कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद रहेको छ। थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यकताका आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

त्यसैगरी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी न्यूनीकरण गर्न भन्दै प्रदेश सरकारका मन्त्रीलाई फोकल पर्सन बनाउँदै जिल्लाको जिम्मेवारी निर्धारण गरेको छ। सर्लाही र रौतहटका लागि उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रायलाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ। 

सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको हो।

जिम्मेवारी तोकिएका मन्त्री सम्बन्धित जिल्ला र प्रदेश सरकारबीच कोरोना महामारी नियन्त्रण तथा न्यूनीकरणका लागि निरन्तर खटिने भएका छन्। रासस

प्रकाशित मिति: : 2021-05-06 14:22:00

प्रतिकृया दिनुहोस्