आलोपालो गर्दै बैंक तथा वित्तीय संस्था

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन्।

आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन्। नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ।

सदरमुकाममा २८ वाणिज्य÷विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन्।

न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बैंकर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो। प्रभु बैंकले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउण्टर सञ्चालन गर्ने जनाइएको छ।

सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ।

एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैंकहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-05-07 07:50:00

प्रतिकृया दिनुहोस्