आगन्तुक चराहरूको नेपाल उडान

सन्दर्भ : विश्व बसाइँसराइ चरा दिवस

हिमाल खबर

काठमाडौं

हिउँदे याममा चिसो छल्न र ग्रीष्म याममा बच्चा कोरल्न आउने हजारौं आगन्तुक चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई त जोड्छन् नै, खास प्रकारको वातावरणीय सूचकको काम पनि गरिरहेका हुन्छन्। 

मान्छेले जिन्दगीभर कति बसाइँ सर्छ? वा कति यात्रा गर्छ? मान्छेभन्दा पनि लामो दूरीको यात्रा गर्ने कुनै प्राणी होला? परेवा जत्रो शरीर हुने ‘आर्कटिक टन’ चरा संसारकै सबैभन्दा लामो दूरीको यात्रा तय गर्ने प्राणी हो। जसले ९० हजार किलोमिटर दूरी पार गर्दै उत्तरी ध्रुवबाट दक्षिण ध्रुवसम्म बसाइँसराइ गर्छ। करीब ३० वर्ष आयु हुने यो चराले आफ्नो जीवनकालमा चन्द्रमामा चारपटक ओहोरदोहोर गर्ने दूरी पार गर्छ।

त्यस्तै, ‘ग्रेट स्नाइप’ भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा अविच्छिन्न ६ हजार ८०० किलोमिटर दूरी पार गर्छ। जुन तीव्र गतिमा लामो दूरी पार गर्ने चरा हो। नौ दिनसम्म खाना र आराम नगरी ११ हजार किलोमिटर उड्ने चरा हो, ‘बार–टेइल्ड गडविट’। 

उड्ने चराहरू मात्र होइनन्, उड्न नसक्ने चरा पेन्गुइन पनि वर्षमा १७ हजार ६०० किलोमिटर टाढासम्मको यात्रा गर्छ। विश्वमा पाइने चराका ११ हजारभन्दा बढी प्रजातिमध्ये करीब ४० प्रतिशत नियमित रूपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गरिरहन्छन्। 

अनुकूल मौसम, सुरक्षित बासस्थान, चरन र प्रजननका  लागि चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशसम्म बसाइँ सरी आउने–जाने गर्छन्। यिनै बसाइँसराइ गर्ने चराहरूको दिगो संरक्षण, आहार, बासस्थान र उडानमार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अंग्रेजी महिना ‘मे’ को दोस्रो शनिबार विश्व बसाइँसराइ चरा दिवस (वर्ल्ड माइग्रेटरी बर्ड डे) मनाइन्छ। 

प्रकाशित मिति: : 2021-05-08 06:53:00

प्रतिकृया दिनुहोस्