कोभिड भारत: भारतीय तीर्थस्थल कसरी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्यो

बिबिसी

दिल्ली

गत महिना कोरोनाभाइरसको दोस्रो लहरसँग भारत जुधिरहेको थियो।

त्यही बेला हरिद्वारमा लाखौँ हिन्दुहरू कुम्भमेलाका लागि भेला हुँदा धेरैले यो मेला कोरोनाभाइरस सङ्क्रमणको केन्द्र हुनेमा आशङ्का व्यक्त गरेका थिए।

जसले आशङ्का गरेका थिए अहिले हेर्दा ती सही देखिएका छन्।

किनभने कुम्भमेलामा फर्किनेहरूमा कोरोनाभाइरस देखिएको भन्ने खबरहरू देशका विभिन्न भागबाट आएका छन्।

मार्च १५ तारिखमा महन्त शङ्कर दास मेलामा भाग लिन हरिद्वार पुग्दा नै भारतका विभिन्न भागमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालिसकेको थियो।

मेला आधिकारिक रूपमा सुरु भएको चार दिनपछि एप्रिल ४ तारिखमा ८० वर्षीय दासमा कोरोनाभाइरस देखियो र उनलाई एउटा शिविरमा क्वारन्टीनमा बस्न सुझाइयो।

तर अलग्गै बस्नुको सट्टा उनले झोला बाँधे र १,००० किलोमिटर टाढा पर्ने वाराणसीको यात्राका लागि रेलमा चढे।

त्यहाँ उनको छोरा नगेन्द्र पाठकसँग उनको भेट भयो र उनीहरू २० किलोमिटर टाढा पर्ने मिर्जापुर जिल्लामा रहेको आफ्नो गाउँमा एउटै ट्याक्सीमा गए।

 

आफ्नो घरबाट मसँग फोनमा कुरा गर्दै महन्त दासले हालसालै आफू "अहिले स्वस्थ एकदमै राम्रो" रहेको बताए र फर्किएपछि घरमै क्वारन्टीमा बसेको बताए।

उनले आफूले भाइरस कसैलाई नसारेकोमा आश्वस्त पार्न खोजे तर केही दिनमै उनका छोरा र अन्य केही गाउँलेमा कोभिडको लक्षणहरू देखिन थाल्यो।

अहिले पूर्ण रूपमा ठिक भइसकेका पाठकले उनको गाउँमा 'विगत १५ दिनमा ज्वरो र खोकीका कारण १३ जनाको मृत्यु भएको' बताए।

गाउँमा देखिएको सङ्क्रमण महन्त दासका कारण भएको वा नभएको दुवै हुनसक्छ।

तर स्वास्थ्य विज्ञहरूले उनको व्यवहार गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-05-12 06:00:00

प्रतिकृया दिनुहोस्