नेपाल शिक्षक महासङ्घसँग आवद्ध पदाधिकारी, सदस्यलगायत देशैभरिका शिक्षकहरूले अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।
शिक्षक महासङ्घको पूर्व निर्धारित कार्यक्रमअनुसार शिक्षकहरूले आज फोन तथा म्यासेजमार्फत अर्थ तथा शिक्षा मन्त्रीहरूलाई एकैसाथ ध्यानाकर्षण गराएका हुन्।
मन्त्रीहरूलाई बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारीहरूको तलव वृद्धि, कोभिड–१९ को महामारीबीच नीजि विद्यालयमा कार्यरत शिक्षकहरूको निष्काशन बन्द र तलब भत्ता उपलब्ध र सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने मुद्दामा ध्यानार्षण गराइएको महासङ्घ केन्द्रीय कार्यसमिति अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए।
'हामीले तत्कालीन् शिक्षामन्त्री दिननाथ शर्मादेखि बहालवाला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग शिक्षक कर्मचारीका पीडा, उनीहरूले भोग्नुपर्ने समस्याका विषयमा राख्दै आएका छौँ' अध्यक्ष अधिकारीले भने, 'सबै मन्त्रीले सम्बोधन गर्ने आश्वासन दिन्छन् तर पूरा गर्दैनन् । त्यसैले होला अहिले राखेका मुद्दाहरू पनि सहजै पूरा होलान् जस्तो लाग्दैन।'
महासङ्घका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष रामबहादुर रावलले सूचना र प्रविधिको माध्यमबाट अर्थमन्त्री पौडेलसँगको फोनवार्ता सकरात्मक रहेको बताए।
अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै उपाध्यक्ष रावलले भने, 'अर्थमन्त्रीले शिक्षकहरूको फोन तथा म्यासेजले ध्यानाकर्षण भएको प्रतिक्रिया दिँदै बजेट बनाउन भ्याएँसम्म सूचित मुद्दाहरूको सम्बोधन गर्छु।'
यसका लागि बजेट बनाउने अवसर मिल्नुपर्ने भन्दै मन्त्री पौडेलले फोन र म्यासेज काममा अवरोध आएकोले त्यसलाई बन्द गर्न अनुरोध गरेको उनले जनाए।
मन्त्रीसँगको कुराकानीले नेपाल सरकारले शिक्षकहरूको कार्यक्रम र उठाएका मुद्दाहरू सम्बोधन हुने आशा केन्द्रीय समितिले राखेको छ। यद्यपि शिक्षक क्षेत्रमा देखिएका समस्या र यसको रुपान्तरणमा राज्यलाई खबरदारी गरिरहने समितिका अध्यक्ष अधिकारीले बताए। रासस