एमालेको विभाजन टरेको कि सरेको मात्रै ?

अनलाइनखबर

काठमाडौं

सइन्द्र राई

माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामालाई रोक्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

२६ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आह्वान गरेकी थिइन् । तर विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठन गर्ने प्रयास सफल भएन ।

१३६ सिट पुर्‍याउन नसकेका विपक्षीहरुले दाबी पेश नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनअघि प्रतिनिधिसभामा विश्वास गुमाएका ओलीलाई संसदको सबभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

अर्थात् तीन दिन अगाडि आफ्नै दल एमालेका सांसदहरूको समेत मत पाउन नसकेका ओलीले बिहीबार विपक्षमा बहुमत पुग्न दिएनन् । त्यसका लागि उनले पार्टी मिलाउने प्रयत्न गरे । ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयपछि सुरुमा साबिकको नेकपा र पछिल्लो समय एमालेमा आफूसँग फरक मत राख्दै आएका माधवकुमार नेपालसँग ओलीले चार घण्टा बिताए । प्रतिस्पर्धात्मक र तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली र नेपालबीच सम्भवतः यो सात वर्ष यताकै लामो बसाइ हो । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रहेका ओली र नेपालबीच पछिल्लो समय एक्लाएक्लै वार्ता हुन समेत छोडेको थियो ।

तर बिहीबारको बसाइले भने ओली फेरि प्रधानमन्त्री बन्ने आधार तयार भयो । वैकल्पिक सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) को प्रयत्न विफल हुन पुग्यो । हुन त नेता नेपाल समूह स्वयं हरहालतमा ओलीलाई पदच्युत गर्न चाहन्थ्यो । त्यसका लागि स्वयम् नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेताहरू यादव र भट्टराईसँग पटक–पटक सम्वाद गरेका थिए । र, नयाँ सरकार गठनका लागि बहुमत पुग्ने गरी सांसदहरुलाई राजीनामा गराउने तयारी थियो ।

२७ वैशाखमा ओलीले विश्वासको मत लिने दिन अन्तिम समयमा आएर राजीनामा रोकेको नेपाल समूहले विश्वासको मत भने दिएन । नेता नेपालसहित २८ सांसद संसद बैठकमै गएनन् । नेपाल समूह अनुपस्थित हुँदा प्रधानमन्त्री ओलीले ९३ मत मात्रै पाए भने विपक्षमा १२४ मत परेको थियो ।

प्रकाशित मिति: : 2021-05-14 07:43:00

प्रतिकृया दिनुहोस्