'फेशन'लाई स्वीकार गर्न नसकेको नेपाली समाज

Breaknlinks
Breaknlinks

फेशन- कुनै पोशाक मात्र होइन। कुनै पहिरन मात्रै पनि होइन। 

फेशन त एउटा संस्कृति हो, जसले फरक-फरक समयको प्रतिनिधित्व गर्छ। फेशन त एउटा सभ्यता हो, जसले अर्को नयाँ सभ्यतालाई जन्म दिन्छ।

पछिल्लो समय नेपाली बजारमा जुन गतिमा फेशनले आफ्नो आयाम परिवर्तन गरिरहेको छ, त्यहीँ गतिमा सकारात्मक र नकारात्मक टिप्पणीहरु पनि आइरहेका छन्। 

समय जतिसुकै परिवर्तन किन नहोस्, तर केही पुरातन सोचबाट ग्रसित भइरहेका मानिसहरुले गर्दा अझै फेशनले सार्थक परिभाषा पाउन सकेको छैन। पर्याप्त मात्रामा मौलाउन पाएको छैन। 

नेपाली समाजमा हुर्किरहेका मानिसहरु (अघिल्लो पुस्ता)लाई फेशन भन्न बित्तिकै छोटो कपडा तथा च्यातिएको कपडा र अगं प्रदर्शनको साेच आउँछ। जुन, शत प्रतिशत गलत हो। उनीहरुलाई यो पनि स्वीकार्य हुँदैन कि, फेशनले समाजको संस्कारमा सुन्दर तरिकाले परिमार्जन गर्छ।

विश्वका महान चित्रकारहरुले कोरेको पेन्टिङ हेर्यौ भने  हामीलाई फेशनको परिभाषा खोज्न धेरै टाढा जानु पर्दैन। चाहे त्यो भिन्चीको पेन्टिङ होस् या एडभर्ड मञ्चको। विश्वकै सभ्यता र संस्कृतिलाई नयाँ पाठ सिकाउने ती पुराना पेन्टिङहरुमा अधिकाशं नग्नताको बिम्ब प्रयोग गरिएको हुन्छ। तर ती फेशनसँग सम्बन्धित पेन्टिङहरुको कहिल्यै आलोचना भएन। विवाद भएन। किनकि, ती पेन्टिङको बजारीकरण उस्तै भूगोलमा भएको थियो। जहाँ, मानिसहरु चेतनाले बाँच्दै आएका छन्।

एउटा बिडम्बना के पनि छ भने, हाम्रो नेपाली समाजमा अझै त्यो प्रकारको चेतना पूर्णरुपमा स्थापित हुन सकेको छैन। फेरी स्थापित हुन सकेको छैन भन्दैमा हाम्रो पुस्ता (समकालिन)ले यो विषयबाट यत्तिकै पन्छिन पनि मिल्दैन। नत्र, यो सोच हजार वर्षपछि सम्म पनि कायम नै रहनेछ। त्यसको लागि परिवर्तन आफैबाट गर्नुपर्छ।

फेशनलाई केवल पोशाक र ट्रेण्डको संज्ञा नदिइ यसलाई एउटा सुन्दर संस्कृतिको रुपमा लिनुपर्छ। जसले यो क्षेत्रमा उत्पन्न हुने अराजकताले पूर्णविराम पाओस्। 

सामान्यतया नेपाली बजारमा चल्ने फेशन पश्चिमी सभ्यताबाट प्रभावित मानिन्छ। तर यसको मतलब यो पनि होइन कि, हामीले हाम्रो मौलिक फेशन बिर्सेर त्यसलाई स्थापित गरौ। बरु हामीले आफ्नो मौलिक संस्कृति र सभ्यतालाई सम्मान गरेर नयाँ फेशनको सदुपयोग गर्नुपर्छ।

हाम्रो देश आफैमा विविधताको देश हो। ती विविधतासँग देशको कला, फेशन, संस्कृति, आस्था लगायत सम्पूर्ण पक्षहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएको छ। यो सत्यलाई आत्मस्वीकारोक्ति गरेर नेपाली फेशनलाई विश्व सामु पुर्याउनु झन् सुन्दर कुरा हो। फेशनलाई साँघुरो दृष्टिकोणबाट औँल्याउनु हाम्रै अज्ञानता र मुर्खता हो। भलै केही कमजोर मानसिकता मान्छेहरुले अझै पनि यसलाई खुलेर सम्बोधन गर्न सक्दैनन्।

फेशनले मानिसलाई सुन्दर मात्र देखाउदैन। यसले त मानिसको साधारण जीवनलाई समेत नयाँ उर्जा दिन्छ। प्रेरणा दिन्छ।

आज २१औँ शताब्दीको समयमा बाँचिरहेका छौं, हामी। यो समयमा हामीले आफ्नै फेशन र ट्रेण्ड निर्माण गरिसकेका छौ। तर दशक शताब्दी पहिले आजको जस्तो समय थिएन। न त अबको दशक शाताब्दी पछि यस्तै भइरहनेछ।

यसरी स्पष्ट हुन सकिन्छ कि फेशनले समय र काल खण्डको अस्थित्वलाई जीवित राख्छ, बर्षौसम्म। जसरी ड्रअरमा पुराना दस्तावेजहरु जीवित रहिरहन्छन्।

प्रकाशित मिति: : 2021-05-15 07:26:00

प्रतिकृया दिनुहोस्