मलाई ऊसँगै हावा खान मन छ

Breaknlinks
Breaknlinks

आज आँखामा ऊ परिनँ।

हो,यो चाैबाटोमा उसँग मेरो जम्काभेट नहुँदा मन भारी भयो। शहरमा लकडाउन छ। मैले सुटुक्क हेरेको थिएँ। उसको झ्याल खुला र ढोका बन्द छ।

आज पनि सधैँझैं मिरमिरे पनि हाँस्यो, तर किन हो किन यो मन हाँसेन। यो मनको क्षितिजमा ऊ दौंतरी बनेर आफ्नाे प्रस्तुति दिन्थी भन्ने बल्ल थाहा पाएँ। ऊ सधैंजसो आउँथी। आज मन उदाङ्गो भयो। अहो! यो रोचक प्रभाती बेलामा उसको उपस्थिति छैन। धेरै चोटी निराश हुनु नपरोस् जस्ताे लाग्छ, आकाङ्क्षाको टुँडीखेलमा।

अपरिचित नारीसँग पनि आकर्षण-विकर्षणको प्रमाण-पत्र माग्दै हिँड्छ पुरुषको भित्री मनले। मलाई अनायास चस्स: दुखेको आभास हुँदैछ।

आज उसको गैर हाजिरीले मलाई अनपेक्षित घाव लाएरै छोड्यो। यसबेला यो बाटाेमा म छु कि छुईँन, जस्तो लागेको छ। म निसास्सिएको छु। म यसरी शून्यतामा विलिन भएको रहेछु। मैले सधैं उसलाई गोधूलि र मिरमिरे पखमा मात्र देखेको छु, त्यसो हुँदा नै हो।

मैले उसको ओंठ र अनारदाना झैं मिलेको दाँतका लहर देखेको छैन। मलाई उसको नामसमेत थाहा छैन। अँ, ऊ र उसको परिवार कतैबाट यहाँ आएका हुन। त्यत्ति नै जानेको छु, मैले। मलाई थाहा छ कि, उसलाई मेरो अस्तित्वको पूरा जानकारी प्राप्त छ। अँ यो पनि थाहा छ कि, ऊ जस्तै बिहानी बेला मन पराउँछु भनेर। फरक यति नै हो ऊ, लकडाउनको कडा पालन गर्छे।

हिजो दुर्गा मन्दिरको कपाट अघितिर पुगेर म सधैंसरी देवीको दर्शन-ढोग गरी ध्यान मुद्रामा रहेको बेलामा ठ्याक्कै ऊ पनि आई पुगेकी थिई। दुई हात जोडेर देवी अर्चनामा तल्लीन भएको मैले देखेको थिएँ। आहा! त्यो पल मलाई बेहद न्यानो लागेको छ।

मन्दिरको गजुर मास्तिर चराहरूको निक्कै रमाईलो चिरीबिरी थियो। छेउको कुलोमा कलकल पानी बगेको थियो। तलतिर पिपलको बोटले पाउलो हाल्दै थियो। पूर्वको नागेडाँडाबाट उषाको लाली खस्दै थियो।

कौब्रु पहाड़बाट शीतल वतास चल्दै थियो। सुनसान थिए, बाटाहरू। एक्लो थियो सुपथ पनि। मैले उसलाई देखेर पनि नपर्खी अगाडि बढें। शायद यहीँ मेरो ठूलो कसूर थियो। मैले उसँग संवाद नै गर्नु पर्थ्याे जस्तो लाग्दैछ। तर मलाई मेरो दिनचर्याले नै छेको हाल्यो, त्यसबेला।

यो लकडाउन चाँडै खोलियोस् भन्ने पक्षमा छु,म। हुन पनि यहाँ बिराजमान भएका सबै देवी-देवताहरू नै हाम्रो फेवरमा हुनाले कोरोनाले यतातिर अझैसम्म दाउ पारेको छैन। मेरो बारम्बार पुकार याे छ कि, आउने दिनको बिहानी प्रहरमा उसँग मेरो भेट हुन सकोस्। 'वाकिंग'मा एउटा नयाँ च्याप्टर शुभारम्भ होस्। मलाई ऊसँगै  हावा खान मन छ।

प्रकाशित मिति: : 2021-05-18 16:09:00

प्रतिकृया दिनुहोस्